
काठमाडौँ । बाबा रामदेवको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीले आर्इतबार जारी गरेको विज्ञप्तिमा नेपालको प्रचलित कानुनले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतको पतञ्जली योग पिठले टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ ।
‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ, ‘दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहन्छ ।’
स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी सञ्चार क्षेत्रमा विदेशी लगानी आएको भन्दै महासंघले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष समेत निकालेको छ । महासंघले कानुनविपरीत सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण समेत सरकारसँग आग्रह गरेको छ । रातोपाटीबाट