मेलम्चीको बाढीले पुल बगाएको ठाउँमा सेनाले बेलिब्रिज बनाउँदै

काठमाडौँ । नेपाली सेनाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ मा बेलिब्रिज निर्माण प्रक्रियालाई तीव्र तुल्याएको छ । उक्त पुल आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हेलम्बुस्थित चनौटे–भिरखर्क जोड्ने ‘ट्रस ब्रिज’ (रातो पुल) गत असारमा मेलम्ची खोलामा आएको बाढीले बगाएको थियो । पुल अभावका कारण स्थानीयबासीको दैनिक जीवन प्रभावित भएका कारण नेपाली सेनाले गत कार्तिक ४ गतेबाट बेलिब्रिज निर्माण कार्य थालेको हो । निर्देशनालयका अनुसार उक्त पुल निर्माणका लागि हाल सर्भे कार्य सम्पन्न भइ डिजाइन र लागत तयार भइसकेको छ ।

पुल निर्माण गर्ने स्थानमा गाउँपालिकाको सहकार्यमा ह्युम पाइप राखेर अस्थायी ट्रयाक निर्माण गरी हाललाई आवागमन सहज गरिएको पनि निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पुल निर्माणका क्रममा स्थानीय करिब २५ जनालाई रोजगारीसमेत उपलब्ध गराइएको छ । जडान गरिने बेलिब्रिजका अधिकांश सामग्री दमौलीबाट ढुवानी गरी स्थान विशेषमा एकीकृत गरिसकिएको र केही सामग्री ल्याउने क्रममा रहेको पनि जनाइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार