प्रधानमन्त्री देउवाद्वारा ‘कांग्रेसको अबको बाटो’ पुस्तक विमोचन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेतृ डा.डिला संग्रौलाद्वारा लिखित ‘कांग्रेसको अबको बाटो’ नामक पुस्तकको विमोचन गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त किताबको माध्यमबाट नेपाली कांग्रेसलाई आगामी दिनमा कुन बाटोबाट अगाडि बढ्ने भन्ने कुरामा मदत पु¥याउने विश्वास व्यक्त गर्दै किताबमा उल्लेखित राम्रा पक्षहरुलाई कांग्रेसमा लागु गर्न पहल गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले लेखक संग्रौलाले महिला हक हितको लागि सदैव आवाज उठाएकाले कांग्रेसको लोकप्रिय नेतृ बन्न सफल भएको भन्दै लेखक संग्रौलाको प्रसंशा समेत गर्नुभयो ।

लेखक संग्रौलाले राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको मुल मर्ममा टेकेर कांग्रेस भित्रका कमी कमजोरीलाई केलाउँदै कांग्रेसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा पाटी पंक्तिभित्र तथा बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले उक्त पुस्तक लेखेको बताउनुभयो । संग्रौलाले आउँदै गरेको १४औँ महाधिवेशनमा उक्त पुस्तकलाई एजेन्डा बनाएर लैजाने लक्ष्य लिएको जानकारी दिनुभयो।

पुस्तकमा कांग्रेसको संक्षिप्त परिचय, कांग्रेसको सैद्धान्तिक स्पष्टता, कांग्रेसको अबको बाटो, जनताले चाहेको अबको कांग्रेस र १४औँ महाधिवेशनको एजेन्डालगायत आठ उपशिर्षकमा पुस्तक बाँडिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार