काठमाडौँ । प्रहरीले रक्तचन्दनको ३३ लिटर तेलसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, यिक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा रहेका छन् ।
तस्करबाट संकलन गरिएको उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको प्रहरीले बताएको छ । रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ । पछिल्लो समय रक्तचन्दनको काठ नियन्त्रणमा प्रहरीको सक्रियता बढेपछि तस्करले यसबाट बनेका अन्य सामग्रीको कारोबार बढाएका छन् । महाशाखाले पक्राउ परेका १० जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । ekantipurबाट