
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देशका विभिन्न स्थानबाट समर्थक–शुभेच्छुक चितवन पुगेका छन् ।सभामा सहभागी हुन आउनेहरुलाई एमाले पार्टी केन्द्रले खानेबस्ने प्रबन्ध नमिलाएकाले कार्यकर्ताहरु आफैंले नारायणी नदी किनारमा मेस चलाएका छन् ।
एमालेले ५ लाख जनसहभागिता गराउने दाबी गरेको छ र त्यसअनुसार जिल्ला जिल्लालाई समर्थक–शुभेच्छुक ल्याउने जिम्मा दिएको छ । जिल्ला तथा स्थानीय तहका कमिटीहरुले बस रिजर्भ गरेर समर्थक–शुभेच्छुकलाई चितवन पुर्याएका छन् ।
लामो यात्रा गरेर पुगेर आइपुगेकाहरूलाई खाना–खाजा तथा आवासको व्यवस्था पार्टीले गरेको छैन । सम्बन्धित कमिटीहरुलाई नै व्यवस्थापन गर्न भनिएको छ । त्यही कारण एमालेका जिल्ला तथा स्थानीय कमिटीहरुले क्याटरिङ सर्भिस समेत एकसाथ लगेका छन् ।
उनीहरुले नारायणी नदी किनारमा मेस चलाएका छन् । नारायणी नदी किनारमा मेस चलाउनेमा भक्तपुरको चाँगुनारायणबाट आएको टोली पनि छ । उनीहरुले आफैं खाना पकाएर खाने र महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुने बताएका छन् । एमालेले प्रतिनिधि र पर्यवेक्षकहरुलाई मात्र खानेबस्ने प्रबन्ध मिलाएको छ । अनलाइनखबरबाट