कांग्रेस कास्की सभापतिमा किशोरदत्त बराल

पोखरा । नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल चयन हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट संस्थापन समूहका बराल सभापतिमा निर्वाचित हुनुभएको हो ।

पहिलो चरणमा कुनैपनि उमेद्वारले ५१ प्रतिशत मत नल्याएपछि भएको दोश्रो चरणको निर्वाचनमा अर्का प्रत्यासी सुदीपमोहन भट्टराईलाई ८० मतले पछि पार्दै बराल सभापतिमा निर्वाचित हुनुभएको हो । दोश्रो चरणको निर्वाचनमा कुल १ हजार ९ सय २६ मत खसेकोमा बिजयी बरालले ९९५ मत प्राप्त गरे भने भट्टराईले ९१५ मत प्राप्त गर्नुभयो ।

कास्कीलाई रामचन्द्र पौडेल समुहको समूहको गढको रुपमा लिईन्छ । तर, पहिलो चरणमा पौडेल समूहका चारजना प्रतिष्पर्धी भएपछि कसैको पनि बहुमत नआउँदा दोश्रो चरणको निर्वाचन गर्नु परेको थियो । दोश्रो चरणको निर्वाचनमा संस्थापन समूहका बरालले बाजी मार्नुभएको हो। शिक्षा क्षेत्रबाट राजनीति शुरु गरेका बराल बौद्धिक नेताका रुपमा परिचित छन् भने उहाँ कास्कीमा तुलनात्मक रुपमा लोकप्रिय समेत हुनुहुन्छ । उहाँको जितले यसलाई पुष्टि समेत गरिदिएको छ ।

कास्कीमा शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका पाँच जना प्रत्यासी रहेका थिए । पहिलो चरणमा बराल र भट्टराई सहित आईबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम सभापतिका उमेद्वार भएपनि ५१ प्रतिशत मत कसैले नपाएपछि पपुलर मत ल्याउने बराल र भट्टराईबीच पुनः प्रतिष्पर्धा भएको हो । नेपाली कांग्रेसको विधान अनुसार सभापतिमा बिजयी हुन ५१ प्रतिशत मत ल्याउनै पर्ने बाध्यकारी प्रावधान रहेको छ ।

पहिलो चरणको निर्वाचनमा पराजित भएपछि दोश्रो चरणको निर्वाचनमा शर्मा, गुरुङ र गौतमले भट्टराईलाई समर्थन गर्नुभएको थियो । उनीहरुले विज्ञप्ती नै निकालेर भट्टराईलाई आफूहरुको समर्थन रहेको र उहाँलाई भोट गरेर जिताउन अपिल गरेका थिए । पहिलो चरणको निर्वाचनमा बरालले सर्वाधिक ६४४ मत ल्याएका थिए भने दोस्रो भएका भट्टराईले ४७२ मत ल्याउनुभएको थियो । अन्य उमेद्वारहरु गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार