भोजपुरमा निर्माणाधीन पुल भत्कियो

काठमाडौँ । भोजपुरमा निर्माणाधीन एउटा पुल भत्किएको छ। भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल भत्किएको छ। शनिबार सो पुल भत्किएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो।

‘मलाई पनि पुल भत्किएको खबर आएको छ। स्विस सरकारको सहयोगमा बन्दै थियो के कसरी भत्कियो भन्ने बुझ्न प्राविधिक टोली जाँदैछ,’ अध्यक्ष राईले भन्नुभयो, ‘गाडी नै नचली त्यसरी भत्किएको विषय एकदमै गम्भीर पनि छ। मैले स्थानीय प्रतिनिधिहरूलाई पनि हेर्न जानू भनेको छु। छानबिन पनि हुनपर्छ भनेको छु। म चितवनबाट फर्किएपछि निरीक्षणमा जान्छु।’

कोरोना भाइरसको महामारी सुरू हुनुअघि नै सो पुल बन्ने काम सुरू भएको थियो। यसमा दुई वटा ठेकेदार कम्पनीले काम गरेको उहाँले बताउनुभयो। पुलको तल्लो भाग कार्कीबन्धु कन्स्ट्रक्सन प्रालिले बनाएको थियो भने माथिल्लो भाग खाम्पाचे जेभी कन्स्ट्रक्सन कम्पनीले काम गर्दै थियो। ‘स्विस सरकारले काम छिटो सकाउनुपर्छ भनेको थियो। ढिला भएपछि कामै नसकी छोड्न लागेको थियो। तर हामीले पुल बनाउने काम सकाइदिन अनुरोध गरेपछि उहाँहरूले फेरि काम सुरू गर्नुभएको थियो,’ अध्यक्ष राईले भन्नुभयो, ‘तर अहिले भत्किएछ। नत्र पुस–माघमै सञ्चालनमा आउने थियो।’

स्विस सरकारको सहयोगअन्तर्गत प्रदेशीय पुल संयोजक सूर्यनारायण चौधरीका अनुसार सो पुल निर्माण नयाँ तरिकाले बन्दै थियो। जुन तरिका नेपालमै पहिलो पटक बन्दै गरेको उहाँको भनाइ छ। पुल निर्माणको काम तीन करोड ५० लाखमा बनाउन लागिएको थियो। ‘स्विस सरकारले रिसर्च एन्ड डेभलपमेन्टअन्तर्गत बनाउन थालेको हो।

रिसर्च नै गर्ने हिसाबले बनाएको हो,’ चौधरीले भन्नुभयो, ‘नयाँ खालको केबल ट्रस ब्रिज भन्ने पुल निर्माण हुँदै थियो, जुन नेपालमै पहिलो पटक बन्दै थियो। त्यो पुलमा केबलले सपोर्ट गरेको हुन्छ। अरूमा स्टिलले नै सपोर्ट गरी पुल बन्थ्यो भने यसमा केबलले स्टिललाई सपोर्ट गर्थ्यो।’पुलमा त्यही केबल राख्ने काममात्रै बाँकी थियो। अरू जग हाल्ने र माथि ढलान गर्ने काम सकिइसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार पुल निर्माणको काम ९० प्रतिशत सकिएको थियो।

‘त्यही केबल तान्ने काम बाँकी थियो। ढलान गर्न सकेपछि तान्ने कुरा थियो। केही समयअघि आएको बाढीले पनि समस्या आएको थियो,’ उहाँले भन्नुभयो, ‘हाम्रो प्राविधिक टोली काठमाडौंबाट जाँदै छ। त्यहाँ पुगेर के गर्न सकिन्छ भनेर हेरेर टुंग्याउँछौं।’ स्विस सरकारको सहयोगमा खोटाङ, ओखलढुंगालगायत विभिन्न जिल्लामा पुल बनाइसकेको उहाँले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार