इजरायल ‘केयरगिभर’मा जानेले तेस्रो डोज खोप पनि लगाउनुपर्ने

काठमाडौं । इजरायल सरकारले त्यहाँ ‘केयरगिभर’ का लागि जाने नेपालीहरुलाई सर्त राखेको छ । इजरायल प्रवेश गर्ने नेपालीहरुले कोभिड–१९ विरुद्ध खोपको तेस्रो मात्रा पनि लगाउनुपर्ने शर्त राखेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा इजरायलले यस्तो सर्त राखेको हो।

‘पहिलो र दोस्रो मात्रा लगाएको ६ महिना नाघेको अवस्थामा तेस्रो डोज खोप पनि लगाउनुपर्ने सर्त इजरायल सरकारको छ,’ उनले भने। उनका अनुसार अब नेपालीहरु कहिलेदेखि इजरायल जान पाउँछन् भन्ने विषयमा भने टुंगो लागिसकेको छैन। यस विषयमा छलफल भइरहेको उनले बताए।इजरायलको यो सर्तपछि चिन्ता थपिएको मन्त्रालयका अधिकारीहरु बताउँछन्।

‘खोपको दोस्रो मात्रा पुर्याउन समस्या भइरहेका बेला तेस्रो मात्राको सर्त आएपछि चिन्ताको विषय बनेको छ। तेस्रो मात्रा नेपालमा आएर त्यो लगाएर इजरायल जान त धेरै समय कुनुपर्ने हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले  भने। इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि इजरायलस्थित पपुलेशन एण्ड माइग्रेशन अथोरिटी (पिआइबिए) बाट एक हजार एक सय ७५ कामदार छनोट भइसकेका छन्।केही समयअघि वैदेशिक रोजगार विभागले एक हजार ६ सय उम्मेदवारको सूची पठाएको थियो।

भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पिआइबिएलाई सिफारिस गरेको हो।पिआइबिएले चिठ्ठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो। ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन्। उनीहरुको स्वास्थ्य परीक्षण पनि सकिएको छ। स्वास्थ्य परीक्षण तथा प्रहरी रिपोर्ट आएपछि उनीहरु इजरायल जानका लागि तयार हुनेछन्।

मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्ट मापदण्डअनुसार भए मात्रै उनीहरु इजरायल प्रवेशका लागि योग्य मानिन्छन्। त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरूगार र रोजगारदाताबीच रोज सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।इजरायलले निजी क्षेत्र (म्यानपावर कम्पनी) तथा बिचौलीया रहित भर्ना प्रकृयामार्फत नेपाली लैजाने भएको हो। सरकार सरकार (जिटुजी) प्रकृयामार्फत कामदार पठाउन लागिएको हो।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।इजरायल नेपालीहरुका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास गरिएको छ। केयरगिभरसँगै इजरायलले नेपालबाट कृषि क्षेत्रमा समेत कामदार लैजान चाहेको छ।

यसका लागि छुट्टै सम्झौता गर्न इजरायल सरकार सकारात्मक छ। इजरायलको प्राविधिक सहयोगमा नेपालमा कृषि सेन्टर फर एक्सिलेन्स स्थापना गर्नेसम्बन्धी सम्झौतासमेत भइसकेको छ। नेपालमा इजरायली प्रविधि भित्र्याएर देशको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने सरकारको विश्वास छ। सरकारले दक्षिण कोरियामा पनि सरकारी संयन्त्रमार्फत नै नेपाली श्रमिकहरु पठाउँदै आएको छ। त्यहाँ निर्माण र कृषि क्षेत्रमा वार्षिक सात हजार बढी नेपालीहरु जाने गरेका छन्। काम र कमाई पनि आकर्षक भएकाले नेपाली युवाहरुको आकर्षण बढ्दै गएको छ।

श्रम मन्त्रालयले नेपालीहरुका लागि काम तथा कमाईका हिसाबले सुरक्षित र आकर्षक गन्तव्य मुलुकको खोजी गरिरहेको बताएको छ। यस्ता मुलुकहरुसँग श्रम सम्झौता गरेर नेपाली श्रमिक पठाउने सरकारको लक्ष्य छ। सोहीअनुसार बेलायतमा पनि नेपाली नर्सहरु पठाउने तयारी गरिएको छ। जसका लागि सम्झौता प्रकृयामाथि छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार