‘पत्रकार सहकारी’ बनाएर सञ्चालन गर्न सकिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएके छ । मंगलबार प्रेस सेन्टर ललितपुरको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताउनुभयो ।

पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माले बताउनुभयो । “पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारहरूको सहकारी समूह बनाएर तपाईंहरू सञ्चालन गर्न सक्नुहुन्छ,” उहाँले भन्नुभयो, “एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ ।”

त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उहाँले बताउनुभयो ।मन्त्री शर्माले तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको बताउँदै पहिले सामुदायिक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिगत प्रतिस्पर्धाहरूलाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने बताउनुभयो ।

पत्रकारहरूलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उहाँले बताउनुभयो । आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माको भनाइ थियो । “प्रेस सेन्टर पार्टीसँग सम्बन्धित संगठन होला, तर पार्टीको मान्छेले गल्ति गर्दा उसको आलोचना गर्ने छुट तपाईंहरूसँग छ,” उहाँले भन्नुभयो, “त्यसकारण तपाईंहरूसँग आफ्नो विचार राख्ने कुरामा स्वतन्त्र हुनुहुन्छ ।” नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार