काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्याला मजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तानमात्र विद्यालय जान्छन्।

खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्।घरमा बस्ने अरू सबैको काम ज्याला मजदुरी नै हो। नत्र हातमुख जोर्ने अर्को कुनै विकल्प छैन भन्छन् कालीबहादुर। ‘आफ्नो खेतबारी छैन। भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न पनि फल्दैन। बाँकी समय हामी त भोकै हो। हामी गरिबलाई कसले हेर्छ र ?’ उनको भनाइ छ।

मैलो, फाटेका केही पुराना लुगाको भरमा वर्षौं काटेका चेपाङ परिवारका बालबच्चा गाउँ नजिकै रहेको विद्यालयमा जाँदासमेत पुरानो लुगा र खाली खुट्टामा जाने गर्दछन्।कालीबहादुरको परिवारमात्र होइन, सिमथलीका चेपाङ समुदायको दुःख करिब उस्तै छ। घरमा खानेकुरा छैन। जाडो मौसममा आगोको भरमा रात काट्नुपर्छ भने विद्यालय जानेहरुले दिउँसोको खाजाको भरमा रात काट्नुपर्छ।

सिमथलीमा रहेको प्रजा आधारभूत विद्यालयमा आउने विद्यार्थीहरूको अवस्था हेर्ने हो भने पनि उस्तै छ। अधिकांश विद्यार्थी भोकै विद्यालय आउँछन्। विद्यालय आएपछि खाजा बनाउने ठाउँ हेर्छन् र दिउँसोको खाजाको पर्खाइमा बस्छन्।अघिल्लो दिनको खाजाले भोक लागेका विद्यार्थी छट्पटिएर शौचालय जाने बहानामा खाजा बनाएको हेरेर कक्षामा फर्कने गरेको टिठलाग्दो दृश्य हरेक दिन देख्न सकिने विद्यालयका शिक्षक अप्सरा मैनालीले बताइन्।

गत वर्ष विद्यालयमा आउने विद्यार्थीको अवस्था नाजुक भएका कारण काठमाडौंका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरिएको थियो तर एक वर्ष भइसक्दा पनि उनीहरू त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय जानु उनीहरूको दैनिकी भइसकेको छ।विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरू झनै समस्यामा छन्।नियमित विद्यालय आउने छ वर्षीय डेप चेपाङ र आठ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो। बाबु घरमै आउँदैनन्। ज्याला गर्न गएर १०/१५ दिनमा फर्किन्छन्। मामाघरमा हजुरआमासँग बसेका उनीहरूको हालत खराब छ।

विद्यालयको खाजामा जीवन चलेको छ। लगाउने लुगा छैन। जाडोको सिरेटोले काम्दै विद्यालयको दृश्य नरमाइलो किसिमको हुने गरेको शिक्षक मैनालीको भनाइ छ।प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये करिब २५ प्रतिशत हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने करिब ७५ प्रतिशत विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका उनको भनाइ छ।

घरमा खाने अन्न नभएका चेपाङ समुदायको बसोबास रहेको सिमथलीमा ७० घर छन्।छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन। विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीबासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँबासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ।

बाबुलाई खोलाले बगाएर मृत्यु भएपछि कठिन संघर्ष गरेर बाँचिरहेका ११ वर्षीया मनमाया चेपाङ र १४ वर्षीय सन्तोष चेपाङको अवस्था झनै कठिन छ।घरमा केही नभएपछि कठिन जीवन बिताइरहेको चेपाङ परिवारको कथाजस्तै लागे पनि यो वास्तविकता नयाँ स्थानीय सरकार बनेपछि पनि गरिबहरूले एकछाक खानसमेत उस्तै अवस्था छ। स्थानीय सरकार आएको चार वर्ष वितिसक्दा पनि अझैसम्म उनीहरूको आर्थिक अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार