राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिको प्रतिनिधित्व गरेनन् : मित्रलाल शर्मा

काठमाडौँ । राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्माले नेपाली राजनीतिका मुख्य दलहरुले अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व नगरेको भन्दै विरोध जनाउनुभएको छ । ​अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले काँग्रेस, माओवादी र राप्रपा लगायतका दलले अपांगता भएका व्यक्तिको प्रतिनिधित्व नगरेको बताउनुभएको हो ।

उहाँले राजनीतिक दलले भाषण गर्दा र भोट माग्दा अपांगता भएका व्यक्तिका कुरा उठाउने गरेको भए पनि प्रतिनिधित्व गराउँदा भने बिर्सिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले लामो समयदेखि राजनीतिक दलमा अपांगता भएका व्यक्तिको पनि सहभागिता हुनुपर्छ भनेर उठाउँदै आएका छौँ । तर, कुनै पनि राजनीतिक दलले सुनिरहेको छैनन् । भर्खरै अधिवेशन सम्पन्न गरेको नेकपा एमालेले पनि सुनेनन् ।’

राजनीतिमा संलग्न भएका अपांगता भएका व्यक्ति र संस्थाले धेरै पटक राजनीतिक दलका कार्यालयमा धर्ना दिँदा र ध्यानाकर्षण गराउँदा पनि नसुनेको अध्यक्ष शर्माको भनाई छ । अब अधिवेशन गर्ने तयारीमा रहेका राजनीतिक दललाई लक्षित गर्दै अध्यक्ष शर्माले अपांगता भएका व्यक्तिको सहभागिता गराउन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘फेरी पनि हामी ध्यानाकर्षण गराउन चाहान्छौँ ।

अहिले हाम्रो कार्यालय नजिकै राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन चलिरहेको छ । उसले पनि अपांगता भएका व्यक्तिलाई समेट्ने छाटकाट देखाएको छैन । निकट भविष्यमै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले पनि महाधिवेशन गर्दैछ । सबै पार्टीलाई अपांगता भएका व्यक्ति समेट्नका लागि राष्ट्रिय अपांग महासंघ यहाँहरु मार्फत नै ध्यानाकर्षण गराउन चाहान्छु ।’

अध्यक्ष शर्माले सरकारले गर्ने राजनीतिक नियुक्तीमा पनि अपांगता भएका व्यक्तिलाई नसमेटेको प्रति दुख व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘दलित आयोग, महिला आयोगलगायत विभिन्न आयोग छन् । ति आयोगले काम गर्ने क्षेत्रमा अपांगता भएका व्यक्ति पनि पर्छन । ति आयोगमा त समेटेनन् नै । तर, अपांगता भएकै व्यक्तिको क्षेत्रमा काम गर्ने समावेशी आयोगमा समेत अपांगता भएका व्यक्ति समेटिएनन् । यसप्रति हामी दुःखसँगै खेद पनि प्रकट गर्दछौ ।’

‘आत्मनिर्भर बनौँ’

कार्यक्रममा सहभागि दृष्टिविहिन रमेशप्रसाद दाहालले सबै अपांगता भएका व्यक्तिहरु आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । अपांगता भएका व्यक्तिहरुका लागि सरकारसँग विभिन्न माग राख्दै आएका दाहाल आफै दृष्टिविहिन हुन् । २५ वर्षको उमेरमा नै दृष्टि गुमाउनुभएका उहाँ व्यवसाय, प्रविधि र अपांगता भएकाहरुका लागि सरकारले गर्नैपर्ने कामहरुको बारेमा वकालत गर्दै आउनुभएको छ । उहाँले शारीरिक रुपमा अशक्त भए पनि रचनात्मक कामहरु जस्तै, बस्ने मुडा बुन्ने, लिटो बनाउने, विभिन्न प्रकारका चित्र कोर्ने आदि गरेर त्यसबाट आत्मनिर्भर बन्न सबैलाई सल्लाह दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार