पर्यटनमन्त्री आलेद्वारा पोखरा क्षेत्रीय विमानस्थलको निरीक्षण

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको बाँकी काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले बाँकी कामहरु समयमा नै सम्पन्न गरि सञ्चालनको तयारी थाल्न निर्देशन दिनुभएको हो ।

उहाँले विमानस्थल निर्माणसँगै समस्याका रुपमा देखिएको भलपानीको निकासका लागि सम्बन्धित सरोकारवालासँग समन्वय गरी तत्काल आवश्यक संरचनाहरु निर्माण गर्न निर्देशन दिनुभयो । विमानस्थलभन्दा माथिल्लो क्षेत्रको पानी वर्षातको समयमा विमानस्थल हुदै बग्दा जमिन कटान हुने र भूक्षयको समेत समस्या निम्तिने औल्याउँदै त्यसको व्यवस्थापन गर्न मन्त्री आलेले निर्देशन दिनुभएको हो।

त्यसैगरी मन्त्री आलेले जहाज उडान गर्नका लागि अवरोध गर्ने विमानस्थलदेखि पूर्वतर्फ रहेको रिठ्ठेपानी डाँडा कटानलाई तत्काल अगाडि बढाउन समेत आग्रह गर्नुभयो । विमानस्थल आसपासका नहर र बाटोको समेत निरीक्षण गरेका मन्त्री आलेले स्तरउन्नोतीसँगै आवश्यक सहयोग गर्न आयोजनालाई आग्रह गर्नुभयो । विमानस्थल परिसरमा जहाजका लागि आवश्यक इन्धन भण्डारणका लागि आवश्यक हवाई इन्धनको डिपो निर्माणका लागि आवश्यक समन्वय गर्ने उहाँले बताउनुभयो।

त्यसैगरी विमानस्थल निर्माणसँगै डम्पिङ साइडको स्थानान्तरणका लागि पोखरा महानगरपालिकसँग समन्वय गरेर उचित व्यवस्थापन गर्न विमानस्थल आयोजनालाई उहाँले निर्देशन दिनुभयो । मन्त्री आलेले विमानस्थलमा निर्माण गरिएका संरचनाहरूको गुणस्तरमा कुनै प्रकारको कमजोरी नगर्न आग्रह गर्नुभयो। अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएकाले आइकाओको मापदण्डअनुसार निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल निर्माणको काम ८८ प्रतिशत सकिएको बताउँदै विमानस्थल क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्याको निराकरणको लागि आवश्यक सहयोगका लागि मन्त्री आलेसँग आग्रह गर्नुभयो । आयोजना प्रमुख मुनाकर्मीले सन् २०२२ को जनवरीदेखि आन्तरिक उडान थाल्ने गरी तयारी गरिएको बताउनुभयो ।

आयोजनामा अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । झण्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण थालिएको थियो । विमानस्थलको रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङ्गर लगायतका संरचना निर्माण भइसकेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार