चलचित्र क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकलगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताउनुभएको छ ।

मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक सम्बद्ध संघ–संस्थाका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकको जीवनयापनलाई सहज बनाउन सहयोग गर्ने उहाँको भनाइ छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले न्यून पारिश्रमिक भएका कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन आग्रह गर्नुभयो। चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले चलचित्रमा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकको तुलनात्मक रुपमा पारिश्रमिक कम हुने, पारिश्रमिक एकै पटक नपाउने र बचत पनि कम हुने बताउनुभयो ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना भाइरस महामारीका कारण चलचित्र निर्माण ठप्प भएसँगै प्राविधिकहरु बेरोजगार बनेको बनाउनुभयो । कलाकार र प्राविधिक सम्बद्ध संघ–संस्थाका पदाधिकारीहरुले नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार