पुनर्निर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डार : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा भूकम्पपछिको पुनर्निर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पपछि दुई महिनामै क्षतिको आङ्कलन गर्न सफल भएजस्तै अहिले पुनर्निर्माण पनि सफल भएको बताउनुभयो।

उहाँले पुनर्निर्माणको बाँकी कामलाई पनि अब सम्बन्धित निकायले तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने समेत बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने उहाँको भनाइ छ । २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटक–पटकका परकम्पले नेपालीलाई पाठसमेत सिकाएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

भूकम्पले नभई निर्माण भएका कमजोर संरचनाले क्षति गर्ने भएकाले बलियो पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा पुनर्निर्माण अवधि उपयोग भएको विश्वास उहाँले व्यक्त गर्नुभयो।कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै निर्माण प्रविधि र क्षमतामासमेत वृद्धि भएको बताउनुभयो । भूकम्पले क्षति भएका निजी आवास यसै वर्ष पुनर्निर्माण सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिममुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास पुननिर्माण प्राधिकरणको छ ।आगामी पुस ९ गते छ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुनर्निर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । प्राधिकरणमार्फत् हालसम्म सात लाख ५९ हजार ७१० घर पुनर्निर्माणको चरणमा रहेको छ । आठ लाख ६६ हजार २०७ जना भूकम्पपीडित प्राधिकरणको लाभग्राही सूचीमा छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार