सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ : ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनुपर्ने पनि बताउनुभयो ।

उहाँले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितिमा पुगेको बताउनुभयो। मन्त्री भुसालले जनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

उहाँले महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताउनुभयो। मन्त्री भुसालले उपभोक्ता महासंघले अब नयाँपन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत खपत गराउने र सबै ऊर्जामा विद्युतीय ऊर्जा उपयोग गर्ने अभियानका रूपमा रूपान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो।

मन्त्री भुसालले भन्नुभयो, ‘सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले हामी अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितिमा छौं। अहिले एकातिर हामी आम जनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति छ। त्यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ। जहाँ केन्द्रीय प्रसारण लाइन पुग्ने छैन त्यहाँ सामुदायिक विद्युत उपभोक्ता महासंघमार्फन् त्यो अभियान पूरा गर्नेछौं।’

मन्त्री भुसालले कतिपय सामुदायिक संस्थाहरूले समयमै विद्युत भुक्तानी नगरेको, विनियमावलीले तोकेकोभन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र समयमै ग्राहकहरूको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको बताउनुभयो । उहाँले केही सामुदायिक संस्थाका उपभोक्ताहरूले आफूलाई संस्थाबाट अलग बनाई नेपाल विद्युत प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको पनि बताउनुभायो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार