कोरोनाको तेस्रो लहरको त्रासका बीच पनि भारत जानेको संख्या बढ्दो

कैलाली । कोरोना संक्रमणको जोखिमका बाबजुद कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या बढेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको जोखिम बढिरहेकै समयमा सुदूरपश्चिमको त्रिनगर भन्सार नाकाबाट भारत जानेको संख्या बढ्न थालेको हो ।

कोरोनाको तेस्रो लहर भित्रिने जोखिम हुँदा पनि भारत जाने नेपालीको संख्यामा कमी नआएको त्रिनगर भन्सार नाकाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताउनुभयो । त्रिनगर भन्सार नाकाबाट एक हप्ता यता ११ हजार ५३३ जना नेपाली भारततर्फ गएको उहाँले बताउनुभयो ।

यो अवधिमा बालबालिका १ हजार ३ सय, महिला २ हजार ६ सय र पुरुष ७ हजार ६ सय ३३ जना नेपाली भारत गएको उनको भनाइ छ । भारतबाट आउने नेपालीको संख्यामा भने कमी आएको छ । एक हप्ता यता भारतबाट नेपाल आउनेको संख्या ४ हजार ५६८ रहेको उहाँले बताउनुभयो ।

इन्चार्ज ठकुल्लाका अनुसार पुरुष २ हजार ७३२, महिला १ हजार १८१ र बालबालिका ६५३ जना यो अवधिमा घर फर्किएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेसँगै नाकामा भने कडाइ गरिएको उहाँले बताउनुभयो । भारतबाट घर फर्कनेलाई चेकजाँच गर्ने र कोरोना सुई लगाएको छैन भने नाकाको हेल्थ डेस्कबाटै खोप लगाएर घर पठाउने गरेको उहाँको भनाइ छ ।

भारतीय नागरिकको हक मा भने कोभिड खोप लगाएको कागज छैन भने फिर्ता पठाइदिने गरेको ठकुल्लाले बताउनुभयो । उहाँले नाकामा सबैको एन्टिजेन परीक्षण गर्न थालिएको र कुनै व्यक्तिमा कोरोना पोजेटिभ देखिएमा पीसीआर स्वाब पनि संकलन गर्ने गरेको उहाँले बताउनुभयो । अहिले नाकामै हरेक व्यक्तिको एचआईभी, क्षयरोग, डेंगो जस्ता रोगको पनि चेकजाँच गर्न थालिएको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार