मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र राख्न प्रस्ताव

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र (सहचारी) राख्न प्रस्ताव गरेको छ। प्रस्ताव गरिएका मुलुकमा कतार, साउदी, मलेसिया, चीन, बंगलादेश र युएई छन्। प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधिको कार्यालयमा पनि एसएसपी दरबन्दी रहने गरी प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो।

ती देशमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी राख्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। वैदेशिक रोजगारी तथा अध्ययनका लागि ठूलो संख्यामा ती देशमा नेपालीहरू जाने गरेकाले अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि संयन्त्रको विकास गर्नुपर्ने देखिएपछि प्रस्ताव पठाइएको प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

‘अपराध अनुसन्धान विशेष क्षेत्रमा सूचना संयन्त्रको विकास गर्न र आपराधिक गतिविधिका सूचना आदानप्रदान गर्न प्रस्ताव पठाइएको छ,’ प्रहरी प्रवक्ता वसन्तुबहादुर कुँवरले भन्नुभयो। यसअघि ती देशमा प्रहरी संयन्त्र राख्ने प्रस्ताव पटक-पटक बहसमा आए पनि कार्यान्वयनमा भने आएको थिएन। संयन्त्र स्थापनापछि विदेशमा बसेर नेपालमा आपराधिक काम गर्ने प्रवृत्ति न्यूनीकरण हुने प्रहरीको आकलन छ।

अहिले विदेशमा बसेर नेपालमा आपराधिक गतिविधि गर्नेहरूलाई ल्याउन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहायता लिनु परिरहेको छ। त्यो प्रक्रिया निकै झन्झटिलो र ढिलो हुने गरेको छ । अपराध गरेर बस्ने व्यक्तिलाई खोज्न त्यहाँको प्रहरीलाई समन्वय गर्नुपर्ने अवस्था छ। त्यही संयन्त्र राखिए यो प्रक्रियामा सहजता आउने प्रहरीको बुझाइ छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार