नेमकिपाले एमसिसीविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । एमसिसी सम्झौता संसद्बाट पारित नगर्न चेतावनीसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले संघीय सांसदहरूलाई खबरदारी गर्ने भएको छ। पार्टीले पुस १६ गते शुक्रबार राजधानीका विभिन्न तीन स्थानबाट जुलुस प्रदर्शन गरी संसद् भवन नयाँ बानेश्वरका तीन नाकामा विरोधसभा गर्ने भएको छ।

दिनको १ बजे काठमाडौंको बानेश्वर (रत्नराज्य मावि), कोटेश्वर तीनकुने र माइतीघरबाट अलगअलग जुलुस निकालिने पार्टीले जनाएको छ। ती तीनवटै जुलुस संसद् भवन नयाँं बानेश्वरका तीन नाकामा पुगेर छुटाछुटै विरोधसभा गर्ने पार्टीले जनाएको छ। बानेश्वर (रत्नराज्य मावि) बाट नयाँं वानेश्वर, कोटेश्वर तीनकुनेबाट नयाँ बानेश्वर र माइतीघरबाट नया वानेश्वरको तीन कुनामा सभा हुने जनाइएको छ।

वानेश्वरको नेतृत्व पार्टीको केन्द्रीय सदस्य सुनिल प्रजापति, कोटेश्वर तीनकुनेको नेतृत्व पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई र माइतीघरको नेतृत्व पार्टीका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवालले गर्ने तय गरिएको छ। जुलुसको दिन पार्टीका विभिन्न एकाइ, जनवर्गीय एवम् पेशागत संगठनलाई अलगअलग क्षेत्रबाट निकालिने जुलुसमा सहभागी बन्ने जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ। पार्टीले कार्यक्रममा सहभागी हुन अपिलसमेत जारी गरेको छ।

एमसिसी सम्झौताले देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुर्‍याउने भन्दै पार्टीले निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको छ। एमसिसी सम्झौता अमेरिकाको हिन्द–प्रशान्त रणनीतिकै हिस्सा भएको दाबी गर्दै नेपालको असंलग्न परराष्ट्र नीतिको आधारमा पनि सो सम्झौता लागु गर्नु ठीक नभएको पार्टीको धारणा रहेको छ।

पार्टी र जनवर्गीय संगठनले हालसम्म सातै प्रदेशका जुम्ला, कालीकोट, दैलेख, अछाम, सुर्खेत, बाँके, कैलाली, रूपन्देही, चितवन, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुुर, मोरङ, सुनसरी, झापा, इलाम, उदयपुर, धादिङ, गोरखा, पर्वत, बाग्लुङ, म्याग्दी, कास्की, लमजुङ, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, मकवानपुरलगायत जिल्लामा विरोध जुलुस र सभा गरिसकेको जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार