एमालेका जिल्ला अधिवेशन प्रतिनिधिलाई बेनीका १४ होटलमा व्यवस्थापन, मद्यपान निषेध गरिएकाले खाएको थाहा पाइए कारवाही गरिने

प्रताप बानियाँ
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनका प्रतिनिधिहरुलाई बेनीका १४ ओटा होटलहरुमा राखिएको छ । अधिवेशनमा भाग लिन जिल्लाको ग्रामीण क्षेत्रबाट आएका प्रतिनिधिलाई अधिवेशन अवधिभर बसाई व्यवस्थापनका लागि बेनीमा सञ्चालित होटल बुक गरेर राखिएको हो ।

जिल्लाको सबै स्थानीय तह र वडाबाट छानिएर आएका प्रतिनिधिहरु कसैलाई पनि सुविधासम्पन्न र कमसल खालको होटल नपर्ने गरी समान रुपमा बसाई व्यवस्थापन गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । बेनीमा सञ्चालनमा रहेका होटलमध्ये १४ वटा होटलहरुमा प्रतिनिधिको बसाई व्यवस्थापन मिलाइएको एमाले जिल्ला सचिवालय सदस्य एवं अधिवेशनको खाद्य तथा आवास व्यवस्थापन उपसमिति संयोजक राजकुमार थापाले बताउनुभयो ।

संयोजक थापाका अनुसार १४ वटा होटलका ४ सय ८५ बेडमा प्रतिनिधिलाई राखिएको छ । अधिवेशन अवधिभर होटलमा बस्ने प्रतिनिधिलाई मद्यपान सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै पनि प्रतिनिधिले मद्यपान गरेको थाहा पाएमा तुरुन्तै ठाउँको ठाउँ पार्टीले कारवाही गर्ने संयोजक थापाले बताउनुभयो । शनिबार र आइतबार बिहानको नास्ता र खानाका लागि अधिवेशनस्थलमा क्याटरिङको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । होटलमा बसेका प्रतिनिधिको खाना र आवासका लागि कुपनको व्यवस्था गरिएकाले कुपनअनुसार प्रतिनिधिको खर्च पेमेन्ट हुने संयोजक थापाले बताउनुभयो ।

प्रतिनिधिलाई बेनीमा सञ्चालनमा रहेका मध्यम होटलहरुमा व्यवस्थापन गरिएको जनाइएको छ । ‘गुट, फुट र अराजकताको अन्त्य गरौं, सबल सुदृढ र एकताबद्ध पार्टी निर्माण गरौं’ भन्ने मूल नारासहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन हिँजो (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार