आजदेखि राष्ट्रियसभा निर्वाचन आचार संहिता लागु

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार (आज)देखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न निर्वाचन आचार संहिता पुस २६ देखि लागु हुने बताएको छ।

निर्वाचन आयोगले व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको बताएको छ। आचार संहिताको पालना गर्नु सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ। आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न गराउन सरोकारवालामा निर्देशन गरेको छ।

अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न वितरण

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न दिइएको छ। माघ १२ मा हुन लागेको राष्ट्रियसभा १९ जना सदस्य पदको निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ। निर्वाचनका लागि उम्मेदवार दर्ता गरेकाहरूले कसैले पनि फिर्ता गरेका छैनन्। राष्ट्रियसभा सदस्यका लागि पाँच दलीय गठबन्धन सरकारमा रहेका दलहरू एकैठाउँबाट चुनाव लड्दैछन्। त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै आफ्ना उम्मेदवार उठाएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा गठबन्धन गरी उम्मेदवार राष्ट्रिय सभा सदस्यको चुनाव लड्दैछन्।सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी जम्मा १९ पदको लागि चुनाव हुन लागेको हो। त्यसमध्ये महिला ७, दलित ३, अपांगता भएका २ र अन्य ७ जनाका लागि चुनाव हुँदैछ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा राष्ट्रिय सभाका सदस्य छनोट हुनेछन्। प्रदेशसभाका सदस्यको मतभार ४८ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार १८ राखिएको छ। राष्ट्रियसभाको मतदातामा ५ सय ३२ जना प्रदेशसभा सदस्य, १४ सय ९३ जना पालिकाका प्रमुख, उपप्रमुख, उपाध्यक्ष गरी २०२५ जना मतदाता रहेका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार