नोबेल मेडिकल कलेजका विद्यार्थी आज पनि प्रदर्शनमा

मोरङ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा आन्दोलनरत विद्यार्थीहरुले आइतबारदेखि कलेजमा रिले अनशन बस्दै आएका हुन् । रिले अनशन बस्ने क्रममा आइतबार सुरक्षा गार्डको आक्रमणले नेकपा (एकिकृत समाजवादी)का भातृ संगठन अनेरास्ववियूका सचिव किसन भगतको टाउको फुटेर घाइते भएका थिए ।

पीडित विद्यार्थीहरुले ५ विद्यार्थी संगठनको सहयोगमा कलेज प्रशासनमा पुस २१ गते नै तालाबन्दी गर्दा समेत समस्या समाधान गर्नेतर्फ राज्य र कलेज प्रशासनको ध्यान नपुगेको भन्दै गुनासो पोखे । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विद्यार्थीहरूलाई कलेजले अतिरिक्त शुल्क मागेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिन आग्रह गरेका छन् । तर‚ एमबीबीएस अध्ययनका क्रममा कलेजले आन्तरिक मूल्यांकन गरेर परीक्षामा अंक दिने भएकाले कलेजविरुद्ध उजुरी दिन नसकेको बताएका छन् ।अनेरास्ववियू मोरङका नविन पहाडीले कलेज प्रशासनले परीक्षामा आन्तरिक मूल्यांकनको अंक नदिई अनुत्तीर्ण गराउने भएकाले कलेजविरुद्ध उजुरी गर्नु विद्यार्थी र अभिभावकका लागि चुनौतीपूर्ण रहेको बताए । राज्यले विद्यार्थीको समस्या समाधानका लागि अघि बढ्नुपर्ने पीडित विद्यार्थीहरुले माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । कलेजमा रहेको एक सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको तर आफूहरूलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएकाले पीडित विद्यार्थीहरुले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

कलेजले आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि अपील गरेका थिए । तर‚ हालसम्म सो विषयमा कतै सुनुवाइ हुन सकेको छैन ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर‚ कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौता पत्रमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार