म्याग्दीमा किशोरीलाई आइरन चक्की खुवाउन सुरु

 किशोरीहरुमा हुने रक्तअल्पता घटाउने कार्यक्रमको लक्ष्य र उद्देश्य

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा आज (आइतबार)देखि किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु भएको छ । किशोरीहरुमा हुने रक्तअल्पता न्युनीकरण गर्नका लागि विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन थालिएको हो ।
नेपाल सरकारको स्वास्थ्य सेवाअन्तर्गत वार्षिक तथा नियमित कार्यक्रम भएकाले आइतबारदेखि जिल्लामा किशोरीहरुलाई आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले बताउनुभयो ।

विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । किशोरीहरुलाई १३ हप्तासम्म आइरन चक्की खुवाउने र १३ हप्ता रोक्ने तथा पुनः १३ हप्ता खुवाउने र फेरी १३ हप्ता रोक्ने गरी कार्यक्रम सञ्चालन भैरहेको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यसअघि समीक्षा कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

बेनी नगरपालिकाभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा विद्यालय पोषण कार्यक्रमअनुसार किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा सहजीकरण गर्नुका साथै जानकारी गराइएको थियो । बेनी नगरपालिकासहित जिल्लाको छ वटै स्थानीय तहका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत तथा विद्यालयभन्दा बाहिर रहेका १० देखि १९ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई आइरन चक्की खुवाउन कार्यक्रम सञ्चालन भएको जनाइएको छ ।

एक आर्थिक वर्षको पहिलो चरणअन्तर्गत गएको साउन–भदौ र असोज तथा दोस्रो चरणको माघ–फागुन र चैत गरी दुई चरणमा २६ हप्तासम्म आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । सो कार्यक्रमअन्तर्गत जिल्लामा माघ महिनादेखि दोस्रो चरणको आइरन चक्की खुवाउन लागिएको हो । विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आजदेखि दोस्रो चरणको आइरन चक्की खुवाउन सुरु गरिएको जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेलले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेरलाई किशोर अवस्था मानेको हुँदा यो समयमा शारिरीक वृद्धि विकासको दर उच्च हुने भएकाले पोषणलाई महत्व दिनुपर्छ । मानव शरिरमा हुने राता रक्तकोशिका (आरबिसी)को विभिन्न तन्तुहरुसम्म अक्सिजन पु¥याउने क्षमतामा कमी आउनुलाई रक्तअल्पता भनिन्छ । आइरन तथा पोसिलो खानाको कमी, जुकाको संक्रमण तथा अन्य रोगहरु र किशोरावस्थामै गर्भवती हुँदा रक्तअल्पता हुन्छ ।

रक्तअल्पता हुनबाट बच्नका लागि हरियो सागपातका साथै भिटामिन–सीयुक्त खानेकुरा, फलफुल तथा पशुजन्य उत्पादनको उपभोगमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले दैनिक खाने खानामा पनि सन्तुलित भोजन तथा विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार