नारायणहिटीभित्र महायज्ञ हुने

काठमाडौँ । काठमाडौंको नारायणहिटी संग्राहलयभित्र महायज्ञ गरिने भएको छ। आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी माघ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको छ।

श्री सतीश्राप मोक्ष धाम झापा र हजुरलाई नमस्ते परोपकारी अभियान काठमाडौको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो। महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न ताराबहादुर कुँवरको अध्यक्षतामा महायज्ञ आयोजक मूल समारोह समिति गठन गरिएको छ। समितिका संयोजक कुँवरले महायज्ञ संग्रहालयभित्रको तत्कालीन राजा महेन्द्रले कोटी होम गर्न लगाएको ठाउँमै हुने जानकारी गराउनुभयो।

देशमा शान्ति सुव्यवस्था, अमन चयन, विभिन्न धर्मसंकटबाट मुक्ति गराउने उद्देश्यका साथ महायाज्ञ गर्न लागेको कुँवरले जनाउनुभयो। महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय गरिएको छ। महायज्ञको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ। महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आमन्त्रण गरिएको जनाइएको छ।

महायज्ञमा सबै सर्वसाधारणलाई भने प्रवेश दिइनेछैन। एक वर्षभित्र मातापिता, आफन्त बितेका सर्वसाधारणका लागि मात्रै महायज्ञभित्र प्रवेश हुन पाउने जनाइएको छ।समाजसेवी दिलविकास राजभण्डारी, संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, युगप्रसाद धमला (हरि), वीरेन्द्रराज दाहाललगायतले कोरोनाको कहरबीच पनि सुरक्षित उपाय अपनाई महायज्ञ गरिने बताउनुभयो।

महायज्ञका क्रममा अन्य महायज्ञमा जस्तो कथावाचन, भजनकीर्तन, नाचगान केही पनि नहुने उनीहरूले जानकारी दिनुभयो। यसक्रममा दुईदुई मिटरको फरक पारी २१ जना ब्राह्णहरूबाट होम हाल्ने काम मात्रै हुने आयोजकको भनाइ छ। तयारी समितिको आफ्नै खर्चमा महायज्ञ हुन लागेको हो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार