
काठमाडौँ । यातायात व्यवसायीहरुले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो।
छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन्। बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायी जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन्। यद्यपी सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाइ छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताउनुभयो। सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उहाँको भनाइ छ। जोरबिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उहाँले बताउनुभयो। यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उहाँले उल्लेख गर्नुभयो। त्यसैगरी व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोरबिजोर लागु गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताउनुभयो।nagariknews.nagariknetworkबाट