मधेसले सच्यायो राजपत्रको निशान छापमा भएको त्रुटि

काठमाडौँ । मधेश प्रदेशले स्थायी नाम र राजधानी तोकेको सूचना जारी गरेको राजपत्रमा नेपालको पुरानै नक्सा प्रयोग भएकोमा नयाँ सूचना निकालेर त्रुटि सच्याएको छ। माघ ३ गते प्रदेशले नाम मधेश र राजधानी जनकपुरधाम प्रदेशसभाबाट तोकेको थियो।उक्त जानकारी राजपत्रमा माघ ३ मै प्रकाशित थियो।

राजपत्रमा पुरानै नक्सा परेपछि मधेश प्रदेश सरकारको आलोचना भएको थियो । उक्त आलोचनापछि आज प्रदेश सरकारले त्रुटि सच्याएको छ।सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले भुलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको बताउनुभएको छ । राजपत्रमा नयाँ नक्सासहितको निशान छाप राखेर नयाँ सूचना छापिएको हो।

यसअघि प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भुलवश पुरानो नक्सा पर्न गएकोले सच्याउने बताउनुभएको थियो । राजपत्रमा पहिले छापिएको सूचनामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नभएको निशान छाप उल्लेख थियो। अहिले यी भूमि समेटिएको नक्सा भएको निशान छाप सहित राजपत्रमा सूचना निकालिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार