संस्कृत विश्वविद्यालयका विद्यार्थीले दिए आन्दोलनको चेतावनी

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालय अनुदान आयोगले नै संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुलाई विभेद गरेको भन्दै तत्काल यसलाई नसच्याइए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आयोगले आह्वान गरेको छात्रवृत्ति तथा अनुदानका प्रस्ताव लिएर कार्यालयमा पुगेका विद्यार्थीहरुलाई आयोगका कर्मचारीले नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीहरूले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने र हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता अभिव्यक्ति दिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

उनीहरुले शिक्षामन्त्री, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका अनुसन्धान केन्द्र निर्देशक, विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरका अध्यक्षलाई ध्यानाकर्षण पत्रसहित यसको वास्तविकता आफूहरुलाई जानकारी दिन मागसमेत गरेका छन् ।

उनीहरुले विश्वविद्यालय अनुदान आयोगमा विद्वत वृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन, आयोगद्वारा शोधार्थीलाई प्रदान गरिने विद्वत वृत्ति तथा अन्य छात्रबृत्तिहरूमा विभेदपूर्ण व्यवहार नगर्न र यसरी प्राप्त गर्ने विद्यावारिधि अन्य विश्वविद्यालयद्धारा प्रदान गरिने विद्यावारिधि सरह मान्यता प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।

विश्वविद्यालय अनुदान आयोगद्वारा पहिलेदेखि प्रदान गर्दै आएको विद्वतवृत्ति अनुदान कार्यक्रम हाल हटाइएको र नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका पूर्ववर्ती अध्येताहरूले विद्वतवृत्ति अदालतको आदेशअनुसार न्यायसंगत रूपमा हासिल गरेको परिप्रेक्ष्यमा विश्वविद्यालय अनुदान आयोगको पछिल्लो व्यवहारले मर्माहत बनाएको उल्लेख गर्दै पत्रमा ५ दिन भित्र माग पूरा नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार