माओवादीका महासचिव दाबेदारबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादीका नेतात्रय वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्मा तीनैजना महासचिवका दाबेदार हुनुहुन्छ । वर्षमान र जनार्दनबीच प्रतिस्पर्धा बढ्दै गएमा प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन सक्ने चर्चा छ । यिनै महासचिवका दाबेदारहरुबीच बुधबार साँझ खुमलटारमा भेटवार्ता भएको छ ।

चीनबाट उपचार गराएर फर्किनुभएका वर्षमान पुनको स्वास्थ्य स्थिति बुझ्न भन्दै देव गुरुङ पत्नी यशोदा सुवेदीसहित खुमलटारस्थित पुनको निवासमा पुग्नुभएको थियो । गुरुङले केही बेर पुनसँग पार्टीको आन्तरिक स्थितिका बारेमा छलफल गरेको पुनको सचिवालयले बतायो । पुनलाई भेटेर गुरुङ दम्पति बाहिरिनासाथ अर्थमन्त्री जनार्दन शर्मा पुष्पगुच्छा लिएर पुनलाई भेट्न पुग्नुभएको थियो । उहाँहरु दुबैले महासचिवको दाबीका विषयमा समेत कुराकानी गरेको स्रोतले बतायो । केहीबेरको कुराकानीपछि शर्मा पुनको स्वास्थ्यलाभको कामना गरेर बाहिरिएका थिए ।

त्यसैगरी अर्का नेता हितमान शाक्यले पनि पुनसँग भेटवार्ता गर्नुभएको छ । जण्डिसको उपचारपछि आराम गरिरहेका पुनलाई माओवादीका नेताहरुले निवासमा गएर भेट्ने, स्वास्थ्यलाभको कामना गर्ने र महासचिवको दाबीका विषयमा समेत कुराकानी गर्ने क्रम बढेको छ । पुन चीनबाट फर्कंदा पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने उहाँलाई त्रिभुवन विमानस्थलमै गएर भेट गर्नुभएको थियो ।

माओवादीको महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिव लगायतका पदाधिकारी चयन गर्न सकेको छैन । वर्षमान पुन र जनार्दन शर्माले आफूलाई सहमतिमै महासचिव बनाउनेपर्ने, नभए प्रतिस्पर्धामै उत्रने बताउँदै आउनुभएको छ । उता गुरुङले चाहिँ आफूलाई सहमतिको महासचिव बन्न अध्यक्षले प्रस्ताव गरेको दाबी गर्दै आउनुभएको छ । माओवादी केन्द्रले महासचिव छान्नका लागि माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार