
काठमाडौँ । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताउनुभएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन ।
एमसीसी सम्झौतामा भएका केही दफाहरू विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नु हुँदैन । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’ उहाँले पार्टी कुनैपनि हालतमा नफुट्ने समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ ।
ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ। यो आइसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरूबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने पनि बताउनुभयो ।
कमल थापाले त महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग गर्नुभएको छ रु छानबिन हुन्छ कि हुँदैन रु भन्नेबारे प्रश्न राखेकोबारे उहाँले भन्नुभयो,‘अहिले पूर्व अध्यक्ष र वर्तमान अध्यक्षबीच संवाद प्रारम्भ भएको छ । उहाँहरुको बीचमा फेरि पनि भेटवार्ता हुनसक्छ। केही न केही निष्कर्ष निस्किन्छ । पार्टी विभाजन हुने सम्भावना छैन । सबै पक्ष मिलेर जाने वातावरण बनिरहेको छ ।’ रातोपाटीबाट