नेपाली राजनीति दुइजिब्रे प्रवृत्तिबाट मुक्त नहुँदासम्म देश बन्दैन : भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले ट्वीटरमा लेख्नुभएको छ , ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद बाहिर माओवाद । नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन।’

पूर्वप्रधानमन्त्रीी समेत रहेका भट्टराईले एमसीसी गिजोल्दै गए परिणाम गम्भीर हुनसक्ने बताउनुभयो । ‘एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ,’ उहाँले लेख्नुभएको छ । उहाँ एमसीसी पास गर्नुपर्ने पक्षमा हुनुहुन्छ । माओवादी केन्द्रले एमसीसी संशोधन विना पास गर्न नहुने बाहिरी अडान राखेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार