
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ । आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो ।
माओवादीले आउँदो २७ गतेदेखि पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा एमसीसीबारे कुरा उठाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताउनुभयो । केन्द्रीय समिति बैठकअघि २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछिमात्रै त्यसबारेमा ठोस निर्णय गर्ने समझदारी बनेको माओवादीका एक नेताले बताउनुभयो।
उहाँका अनुसार, छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले गठबन्धन जोगाउन एमसीसीको अमेरिकास्थित मुख्यालयलाई पत्र पठाउन बाध्य हुनुपरेको बताउनुभएको थियो । आइतबार प्रचण्डको सचिवालयले पनि त्यही व्यहोराको स्पष्टीकरण सार्वजनिक गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा संसदको यही अधिवेशनमा र सकेसम्म आउँदो २६ गते नै एमसीसी अनुमोदनसम्बन्धी परियोजना संसदमा टेबुल गर्ने पक्षमा हुनुहुन्छ । उहाँले छलफल पनि त्यही अनुसार अघि बढाइरहनुभएको छ । तर सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीको उहाँलाई समर्थन छैन । अनलाइनखबरबाट