
काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठुलो भिडन्तमा लान खोजेको आरोप लगाउनुभएको छ।
सोमबार रिपार्टर्स क्लब नेपालमा २८ दलसहितको संयुक्त जनआन्दोलनले एमसीसीविरुद्ध गर्ने विरोध प्रदर्शनबारे जानकारी गराउने कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री देउवाले देशलाई द्वन्द्वमा धकेल्ने प्रपञ्च गरिरहेको बताउनुभयो । उहाँले एमसीसी पारित गर्न खोजे देशमा ठुलो भिडन्त हुने समेत बताउनुभयो । देशमा भिडन्त भएमा देउवा नै मुख्य जिम्मेवार हुने उहाँको भनाइ थियो ।
नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक (२०७४ साल भदौ) मा हस्ताक्षर हुँदा सुरुमै संसद्बाट अनुमोदन गर्ने नलेखिएको बताउनुभयो । ‘नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भदौमा हस्ताक्षर हुँदा सुरुमै संसद्बाट अनुमोदन गर्ने लेखिएको थिएन,’ उहाँले भन्नुभयो,’त्यसलाई १ वर्षपछि संसद्बाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँको शीर्ष नेता, कर्मचारीहरुले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडि बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरु नेपाल सरकारले पारित गरेको इतिहास छैन ।’
नेता मैनालीले संविधानको प्रावधान नहेरी गर्न नपर्ने कुरालाई पनि थुपारेर अनुमोदन पछिको दुष्प्रभावको बारेमा केही नसोची संसद्बाट अनुमोदन गर्न जुटेको आरोप लगाउनुभयो । एमसीसी सम्झौतामा उल्लेख भएका कुरा कानुन सरह हुने पनि उहाँले दाबी गर्नुभयो । एमसीसी सम्झौता नेपालको कानुनभन्दा अमेरिका माथि हुने स्पष्ट भएको उहाँले जिकिर गर्नुभयो ।नागरिक खबरबाट