
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्धको महाभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गर्नुभएको छ । नेम्वाङले भन्नुभयो,‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।’
संसदमा एमालेको मत बिना महाभियोग पारित हुँदैन भनेर थाहा हुँदाहुँदै कुनै सरसल्लाह नगरिकन छापामार शैलीमा ल्याइएकाले आशंका बढाएको उहाँले बताउनुभयो। सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्ने भए पनि सत्ता गठबन्धनसँग त्यो मत छैन ।
तर, आफूहरूसँग छलफल नै नगरी ल्याइएको महाभियोग प्रस्ताव स्थानीय तहको चुनाव सार्ने षडयन्त्र हुनसक्ने एमालेको प्रारम्भिक आँकलन छ ।सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । तर, सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बेखुस छन् ।
यी दुई दलले आगामी कात्तिक वा चैतमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउँदै आएका थिए । ‘स्थानीय तहको निर्वाचन असंवैधानिक छ, कानुनसम्बत छैन भनेर प्रचण्ड र मावध नेपाल बोलिरहनुभएको थियो । उहाँहरूले चुनाव कात्तिक र चैतमा लैजानुपर्छ भनिरहनुभएको थियो,’ नेम्वाङले भन्नुभयो, ‘यही उद्देश्य पूरा गर्न महाभियोग ल्याइएको हामीलाई आशंका छ ।’ नागरिक खबरबाट