
काभ्रे । कांग्रेस महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय भएको बताउनुभएको छ।बनेपामा नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा रहेको गतिरोध अन्त्यको लागि महाअभियोग आवश्यक रहेको तर्क गर्नुभयो ।
‘सर्वोच्च अदालतमा महिनौंदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च सेयर नगरेको अवस्था थियो, बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन्,’ थापाले भन्नुभयो, ‘उहाँमाथि संगीन आरोप लागेकोले सहज बहिर्गनको लागि अनुरोध गरेका थियौं, न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो ।’
महाअभियोग पास हुनेरनहुनेबारे यसै भन्न नसकिने भन्दै उहाँले यसबारे संसद्ले नै निर्णय गर्ने बताउनुभयो । एमसीसीबारे अनावश्यक छलफल भएको भन्दै उहाँले छिटो भन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताउनुभयो । २०६८ सालयताका सबै सरकारले एमसीसी स्वीकारेर प्रक्रियाअघि बढाएको भन्दै देशमा ठूलो पूर्वाधार बन्नको लागि वैदेशिक सहायता आवश्यक भएको तर्क गर्नुभयो ।
ऋण भन्दा अनुदानको रुपमा वैदेशिक सहायता लिनु उपयुक्त हुन्छ, अनुदान भन्दैमा जे पायो त्यही लिने कुरा पनि हुँदैन,’ थापाले भन्नुभयो, ‘सरकारमा बस्दा एउटा कुरा, नहुँदा अर्को कुरा गर्नुहुँदैन, २०६८ सालयताका सबै सरकारले प्रक्रियाअघि बढाएकाले, एमसीसी पास नगर्ने हो भने त्यसयताका नेतृत्वले बेला हामी सुरमा थिएनौं भनेर भन्नुपर्छ ।’वैशाख ३० गते तोकिएको निर्वाचन कुनै पनि हालतमा नटर्ने भन्दै उहाँले गठबन्धनबारे निर्णय सम्बन्धित तहका पार्टी कमिटीले नै गर्ने बताउनुभयो । ekantipurबाट