
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दा उहाँले विपक्षी दलक केही नेताहरु गठबन्धन भत्काउन लागि गरेको बताउनुभएको हो । उहाँले भन्नुभयो,’विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसीसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ ।’
दुई–दुई पटक संसद् विघटन गरेकोमा नेकपा (एमाले)ले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उहाँको भनाइ छ । एमसीसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने उहाँले बताउनुभयो । सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सम्मेलनले सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको जनमोर्चाका नेता रोशन दानीले जानकारी दिनुभयो । nagarikkhabar