युक्रेनमा रहेका आफ्ना नागरिक ल्याउन भारतले पठायो जहाज

एजेन्सी । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न जहाज पठाएको छ। टाइम्स अफ इन्डियाका अनुसार एयर इन्डियाको एउटा जहाज मंगलबार बिहान दिल्लीबाट किएभका लागि उडिसकेको छ।

युक्रेनमा रहेका भारतीय नागरिकलाई फिर्ता ल्याउन अरू पनि उडान गर्ने भारतको तयारी छ। विद्यार्थीसहित युक्रेनमा २० हजार बढी भारतीय रहेको तथ्यांक छ। रूस र युक्रेनको सीमामा केही हप्तादेखि जारी तनाव चरणमा प्रवेश गरेको छ। सोमबार रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन्।

रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका डोनेस्क र लुहान्स्क क्षेत्रलाई पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका हुन्। ती दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेका हुन्। ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाउन निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

सोमबार राति टेलिभिजनबाट सम्बोधन गर्दै पुटिनले युक्रेन रूसी इतिहासको अभिन्न अंग भएको बताएका थिए। दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने आफ्नो निर्णयलाई रूसी नागरिकले साथ दिने उनको विश्वास थियो । पुटिनको निर्देशनको केही घन्टामै डोनेस्क सहरमा रूसी सैनिकका ट्यांकहरू देखिएको रोयटर्सका संवाददाताले देखेका छन्।

अमेरिकालगायत विभिन्न पश्चिमा मुलुकले अहिले रूस–युक्रेनको सीमामा साढे १ लाख बढी रूसी सैनिक तैनाथ रहेको बताएका छन्। पृथकतावादीको नियन्त्रणमा रहेका यी दुई क्षेत्रमा यसअघि नै सादा पोशाकमा रूसी सैनिक पुगिसकेको भए पनि पुटिनको आदेशपछि हतियारधारी सैनिकलाई त्यहाँ जान बाटो खुलेको बताइएको छ।

पुटिनले पुरै युक्रेनभरि नै सेना पठाउने योजना बनाएका छन् कि छैनन् भन्ने खुलिसकेको छैन । उहाँको नयाँ कदमले त्यसका लागि वातावरण बनाएको देखिएको छ। युक्रेनका विषयमा छलफल गर्न अहिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको छ। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ ।

पुटिनको कदमपछि उहाँले टेलिभिजनबाट सम्बोधन गर्दै युक्रेनी नागरिकलाई नडराउन आग्रह गर्नुभएको छ । उहाँले रूसी कदमबाट आफ्नो देशको सीमा परिवर्तन नहुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले डोनेस्क र लुहान्स्क क्षेत्रमा संलग्न केही रूसी अधिकारीहरूमाथि प्रतिबन्धमा हस्ताक्षर गर्नुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार