
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताउनुभएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उहाँले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताउनुभएको हो । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले भन्नुभयो, ‘यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ ।
अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ । हामी हाम्रो बाटो हिँड्छौँ । आ आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ । त्यसले केही फरक पार्नेवाला छैन ।’नेता खनालले गठबन्धन टुटे पनि केही फरक नपर्ने टिप्पणी गर्नुभयो । ‘त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन ।
हामीले देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा हामी निरन्तर काम गर्दछौँ ।’एमसीसीप्रति तीव्र विरोध रहे पनि प्रधानमन्त्री देउवाले पारित गर्न जबर्जस्ती गरेको खनालले बताउनुभयो । एमसीसी विरोधमा नागरिकले रगत बगाइरहेको भन्दै खनालले यस्तो बेलामा अनुमोदन गराए नेपालका लागि दुखद हुने बताउनुभयो ।
‘यो ढंगले जबर्जस्ती ल्याउने जुन कुरा भएको छ, त्यसले आज राष्ट्र विभाजित छ । मान्छेहरु सडकमा निस्किएका छन् । मान्छेहरुलाई शेरबहादुर देउवाजीका पुलिसहरुले दनादन कुटिरहेका छन् । टाउको फुटाइरहेका छन् । रगत बगाइरहेका छन्’ उहाँले भन्नुभयो, ‘आफ्नो देशका नागरिकहरुको रगत बगाएर, त्यो रगतमाथि कुल्चिएर, यो देशको सरकारले यस्ता कुराहरु अनुमोदन गराउँछ भने यहाँ भन्दा दुःखद् अध्याय नेपालको इतिहासमा अरु केही हुन सक्दैन ।’
नेता खनालले एमसीसीमा प्रधानमन्त्री देउवा अमेरिकाले थापेको पासोमा परेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले आजै गरौं, भोलि नै गरौं भनेर दबाब दिइरहेको भन्दै खनालले आफूहरुले चुनावपछि छलफल गरौं भन्दा पनि नमानेको बताउनुभयो । ‘पासोमा नै परेको जस्तो ढंगले उहाँले कुराकानी गर्नुभएको छ । आज नै गर्नुपर्यो भोलि नै गर्नुपर्यो, नगरी हुँदै हुँदैन भन्नुहुन्छ ।
हामीले यसलाई कम्तीमा पनि ५ वर्ष यसै बितिसक्यो । अब चुनावपछि छलफल गरौँ भनेका हौँ । तर उहाँले मान्नुभएन’ उहाँले भन्नुभयो ।नेकपा एकीकृत समाजवादीले एमसीसीमा समर्थन नगर्ने र माओवादी केन्द्रले पनि यही निर्णय गरेको खनालले बताउनुभयो । ‘गठबन्धनको आधारमा पास हुने स्थिति हुँदैन । पास गर्नै पर्ने भए उहाँले एमालेसँग साँठगाँठ गर्नुको कुनै विकल्प छैन । साँठगाँठ गरेर उहाँहरु जानुहुन्छ भने हामीले के भन्ने ?’ अनलाइनखबरबाट