
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोष सडकमा एमसीसीको विरोध गरिरहेका युवाहरुको नभइ द्वेध चरित्र भएका नेताहरुको भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले बालुवाटारमा एउटा र बानेश्वरमा अर्को कुरा गर्ने नेताहरुको द्वैध चरित्र दोषी भएको बताउनुभएको हो । सत्ता गठबन्धनमै रहेर एमसीसीको विपक्षमा उभिएका दल तथा तिनका नेतालाई महामन्त्री शर्माले अब एउटा कित्ता समात्न सुझाव दिनुभएको छ ।
‘सडकमा एमसीसीको विरोध गरिरहेको युवाको कुनै दोष छैन । दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को,’ उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ,’अब टुंगो गरौँ, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले राष्ट्रहरु समृद्ध बनेका छन् कि, जिम्मेवार राष्ट्रवाद’ले ?’
उहाँले सरकारमा रहँदाको मर्यादा पालना गर्न पनि भन्नुभएको छ । ‘ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा उहाँको नैतिक जबाफदेहीता खोजिन्छ नै तर सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीको असहयोग हद दर्जाको अराजकता,’ उहाँले भन्नुभयो,’कि भनौं गठबन्धनमा छौँ, सरकारमा छैनौँ । कि सरकारमा रहँदाको मर्यादा पालन गरौं ।’
एमसीसीका सम्बन्धमा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक–पटक छलफल गरिरहनुभएको छ। तर, माअोवादी केन्द्र र एकीकृत समाजवादीकै भ्रातृ संगठनहरुले बानेश्वरमा विरोध प्रदर्शन गरिरहेका छन् ।
यसैलाई संकेत गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा कटाक्ष गर्नुभएको हो । यस क्रममा उहाँले कम्युनिस्टहरुको कटु आलोचना पनि गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘मार्क्सवाद र माओवादको पुस्तकले ‘नैतिकता’ सिकाउँदैन भनौँ, अलि गैरजिम्मेवार टिप्पणी हुन्छ, सिकाउँछ भनौँ आफैँ सरकारमा प्रधानमन्त्री र मन्त्री छँदा अघि बढाएको एमसीसीविरुद्ध केही उच्च कमरेडहरु कि नलजाई उभिनु भएको छ कि मौन–ध्यान मुद्रामा बस्नुभएको छ । लज्जा स्वयं लज्जित दृश्य हो यो ।’ नागरिक खबरबाट