
सरकारमा बसेर तर मार्ने अनि बाहिर बाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले पाउँदैन
काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले संसद्बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसद्बाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए ।
उनले एमसीसी सम्झौता संसद्मा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दाबी समेत गरे ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । उनले आफूहरु संसद्बाट स्पष्ट बहुमत पुर्याएर सो सम्झौता पारित गराउन लागि परेको बताए ।
एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए । भट्टराईले भने,‘मैले प्रष्ट ढंगले भनेको छु– संसद्मा पनि र बाहिर पनि मैले भनेको छु । फेरी पनि भन्न चाहन्छु– यो एमसीसी सहमतिबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसाग आईपर्दैछ । त्यसलाई राष्ट्रिय सहमती बनाएर जानुपर्छ । यसको निम्ति अब संसद्मा स्पष्ट बहुमतले पारित गर्नुपर्छ । कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौं, हामी चााही बाहिर गईहाल्छौं ।
तपाई पास गर्नोस भनेर झिनो मतले अब संसद्बाट उपस्थितिको बहुमत । संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने रु यस्तो महत्वपूर्ण मुद्दा । हुँदैन । संसद्को अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पुर्याएर नै यसलाई पास गर्नुपर्छ । त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ । त्यसो गर्न पाइँदैन । मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई ।
कित तपाईंले यसलाई साथ दिनोस् १३८ पुर्याएर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाइँदैन । पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्याएर पारित गर्छौं । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्याए । उनले एमसीसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए । कान्तिपुर