काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठले अबको शिक्षा दुई धारमा हुनुपर्ने बताउनुभएको छ । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिट–२०२२ मा बोल्दै श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो ।
‘अब शिक्षा दुई धारमा सञ्चालन गरिनु पर्छ,’ उहाँले भन्नुभयो, ‘पब्लिक धार र प्राविधिक धार बनाएर जान जरुरी छ । साधारण शिक्षा पढ्ने र प्राविधिक धार पढ्ने मात्र बनायौं भने सहज हुनेछ ।’ निजी र सामुदायिक भनेर दुईखाले शिक्षा सञ्चालन रहेको तर प्राविधिक शिक्षालाई प्राथमिकतामा पर्न नसकेको उहाँले बताउनुभयो ।
आफू एक दशकदेखि नीति निर्माण तहमा रहेको तर चाहेजस्तो शिक्षाको विषयलाई सुधार गर्न नपाएको उल्लेख गर्नुभयो । ‘अहिले शिक्षामा संघीय कानुन बनेको छैन,’ संघीय संसद्ले नयाँ ऐन जारी गर्न लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षादेखि देशका एउटै विश्वविद्यालयले १६ सय सम्बन्धन दिदै आएको अवस्था छ । यो हुनु भएन । अब केन्द्रीय, स्टेट, स्थानीय युनिभर्सिटी हुनुपर्छ ।’
उहाँले पब्लिक र प्राइभेट खुला हुन नसकेको उल्लेख गर्नुभयो। ‘अब सरकारले लगानी बढाउनु पर्छ र प्राइभेटमा पढ्नेलाई छात्रवृत्ति दिन सक्नुपर्छ,’ निजी शिक्षालयको योगदानलाई कम आकलन नगर्न संकेत गर्दै राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘त्यसो भएमा दरार भयो भन्ने घट्छ । पब्लिक प्राइभेट पार्टनरसिप हुनुपर्छ ।’ विदेश जाने विद्यार्थी ताँती रोक्ने काम निजी क्षेत्रका शिक्षालयले गरेको उहाँले दाबी गर्नुभयो ।
‘तर पनि सात महिनामा ३७ अर्ब रुपैयाँ विदेशिएको छ,’ नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउन सकिने उल्लेख गर्दै भन्नुभयो, ‘विद्यालय तहमा पाँच पाँच वर्षमा हेडमास्टर परिवर्तन गर्नुपर्छ । जुन ठाउँमा आवश्यकता छ, भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थि टिकाउन जरुरी छ । अहिले विद्यालय र शिक्षक मर्ज गर्नु पर्ने देखिन्छ ।’सरकारले अंग्रेजी, गणित र विज्ञानका विषय शिक्षकलाई तालिम दिइनु पर्ने र प्रविधिमैत्री तुल्याउन आवश्यक रहेको जोड दिनुभयो । ‘सरकार शिक्षाको समग्र सुधारप्रति गम्भीर छ,’ उहाँले भन्नुभयो। ekantipurबाट