म्याग्दी । म्याग्दीमा नवआगन्तुक प्रहरी नायव उपरीक्षक तिलक भारतीले जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउनु नै आफ्नो प्रमुख कार्यभार रहेको बताउनुभएको छ ।
हालै मात्रै जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रनाउ भारतीले शनिवार जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गर्दै नजिकिँदो स्थानीय तह निर्वाचनलाई लक्षित गरि सुरक्षा रणनीति तयार गरि कार्यान्वयन हुने बताउनुभयो ।
उहाँले निर्वाचनमा सबै सुरक्षा अंगहरुसंग समन्वय गरि प्रभाबकारी शान्ति सुरक्षाको प्रवन्ध गर्नतर्फ आफु लागिपर्ने बताउनुभयो । उहाँले समाजमा रहेका विकृति, विसंगती र अपराधीक क्रियाकलाप नियन्त्रण र रोकथामका लागि प्रहरीलाई समुदाय र नागरिक स्तरबाट समेत रचनात्मक साथ दिनुपर्ने बताउनुभयो ।
उहाँले नागरिक पनि समाजका बर्दीविनाको प्रहरी रहेको बताउँदै समयमा र वास्तविक सूचना दिएर सहयोग गरेमा समाजमा हुने अपराधिक गतिविधि नियन्त्रण र दोषिमाथि कारबाही गर्न सहज हुने धारणा राख्नुभयो । पछिल्लो समय समाजमा लागुऔषध दुव्र्यसनको घटना बढ्दै गएको अवस्थामा विद्यालय तहबाटै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षाको अवस्था, विगतमा प्रहरी कार्यालयको सेवाप्रति सर्वसाधारणबाट हुने गरेका गुनासा लगायतको बारेमा प्रनाउ भारतीको ध्यानकर्षण गराएका थिए ।