बाँसबारी छालाजुत्ता खानेहरूले सोध्छन् खै उद्योग स्थापना गरेको भनेर ? : ओली

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन आफ्नै सुख सुविधाका लागि मात्रै बनेको बताउनुभएको छ । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सवैको सुख, सुविधा, न्याय र सम्बृद्धिका लागि भएपनि अहिलेको पाँच दल आफ्नै सुख सुविधाका लागि बनेको बताउनुभएको हो ।

उहाँले एमाले र पाँच दलीय गठबन्धन बीचको फरक छुट्याउँदै भन्नुभयो, ‘हामी सबैको सुख भन्छौ, उनीहरु आफ्नो सुख भन्छन्, हामी सबैको न्याय भन्छौ उनीहरु आफ्ना लागि भन्छन्, हामी र पाँच दलीय गठबन्धन बीचको फरक यही हो ।’ उहाँले आफुहरु त्यस्तो नगर्ने भन्दै सबैको सुख र सम्बृद्धिका लागि लड्ने दावी गर्नुभयो।

आफ्नो नेतृत्वको सरकारले आठवटा औद्योगिक क्षेत्र खोलेको, लगानीको वातावरण बनाएको भन्दै बाँसबारी छाला जुत्ता कारखाना खाएकाहरुले खै उद्योग खोलेको भनेर सोध्ने गरेको बताउनुभयो । ‘हामीले आठवटा औधोगिक क्षेत्रहरु खोल्यौ, अनेक उद्योग स्थापना गर्न आव्हान र सुरु पनि गर्यौ’, ओलीले भन्नुभयो, ‘कतिपय नयाँ उद्योग सञ्चालन गर्यौ, ती मान्छेहरुले हामीलाई सोध्न अप्ठेरो मान्दैनन्, जसले छाला जुत्ता खाए । बाँसबारी छालाजुत्ता खानेहरूले हामीलाई सोध्छन् खै उद्योग स्थापना गरेको रु जसले सिमेन्ट कारखाना, इँटा टायल खाए ।’

नेपाली काँग्रेसलाई लक्षित गर्दै ओलीले भक्तपुर इँटा, हरिसिद्धि इँटा, हिमाल सिमेन्ट खानेहरूले कसरी सोध्न सकेको बताउनुभयो । उहाँले चोभारमा सुख्खा बन्दरगाह बनाउन लाग्दा काँग्रेसले शिलान्यास गर्न नदिएको भन्दै त्यही बन्दरगाहको प्रधानमन्त्रीले हिजो उद्घाटन गरेकोमा धन्यवाद दिनुभयो ।‘यसले राम्रै गर्छ भनेर भन्नुभयो । यतिबेला थाहा पाउनुभएछ । तीन वर्षपछि ।’ त्यसक्रममा उनले पाँच दललाई गधाको कथासँग तुलना गर्दै भन्नुभयो, ‘हाम्रा मित्रहरु शिलान्यास गर्ने बेलामा विरोध गर्छन् । उद्घाटन गर्ने बेलामा कुरो बुझ्छन् र वत्ति बाल्न जान्छन् । ’

उहाँले विगतमा आफुले प्रतिकूलताका बीचमा सरकार चलाएको पनि बताउनुभयो। ‘विचार गर्नुस् त कसरी चलायौ होला प्रतिकूलतामा । यतापट्टि प्रचण्ड उतापटिट माधव नेपाल, पर्तिर झलनाथ खनाल राखेको छ । उता अर्को छ । देश भन्नेबित्तिकै देशभन्दा पहिला मेरो कुरा भन्नुछ भनेर उफ्रिन्छ, दुई घण्टासम्म कराउँछ’, ओलीको भनाइ छ । नेकपा एमाले भोटका लागि नभई विकासका लागि राजनीति गर्ने समेत ओलीले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार