म्याग्दी । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष होमबहादुर थापा पालिका अध्यक्ष पदमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बन्नुभएको छ ।एमालेले गण्डकी प्रदेश कमिटीले मनोनयन दर्ता गर्ने दोस्रो दिन सोमबार मात्र धवलागिरी पालिकामा थमसरा पुनलाई प्रमुखमा दोहोर्याउने र प्रगति कार्कीलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेका थिए ।
पालिका प्रमुखमा दाबी गरेका थापाले पार्टी निर्णयमा असन्तुष्ट भइ ‘क्षमता’ देखाउने भन्दै राप्रपाबाट प्रमुख पदमा मनोनयन दर्ता गर्नुभएको हो ।
धवलागिरी गाउँपालिकाको प्रमुख, उपप्रमुख पदमा पार्टीको टिकट वितरणमा चर्को असहमति भएको जानकारी विवाद सुल्झाउन बेनीबाट एमाले केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष समेतको टोली धवलागिरी पुग्दा थापाले राप्रपाबाट मनोनयन दर्ता गरी फर्किसक्नुभएको थियो। थापाले एमाले टोलीसँग भेट्न समेत मान्नुभएन ।