सांस्कृतिक सहरको परिचयलाई फैलाउँदै ललितपुरका जनतालाई सुख दिने महर्जनको संकल्प

ललितपुर । नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले महानगरको सांस्कृतिक सहरको परिचयलाई व्यापक बनाउँदै जनताको दैनिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा काम गर्ने संकल्प गर्नुभएको छ ।

सम्पदा र संस्कृति संरक्षण, स्वास्थ्य विमा, सुरक्षित, उज्यालो र बलियो सडक, सुशासन र जवाफदेहिता, भर्टिकल पार्किङ, प्रविधिसहितको संस्कारयुक्त शिक्षा, हस्तकला प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने मेयर पदका उम्मेदवार महर्जनले वाचा गर्नुभएको छ। सहरलाई उज्यालो बनाउने अभियानअन्तर्गत महानगरका सबै वडामा स्मार्ट सडक बत्ती जडान गर्ने बताउनुभयो । चक्रपथमा स्मार्ट सडक बत्ती जडान गरेर चक्रपथलाई सुरक्षित बनाउने संकल्प गर्नुभएको छ ।

आफ्नो पहिलो कार्यकालमा महानगरको केही रूटमा जडान गरिएको स्मार्ट सडक बत्तीले सहर उज्यालो र सुरक्षित भएको उहाँको दाबी छ। पैदलयात्रीको सुरक्षालाई ध्यानमा राखेर उहाँले सडकमा पैदलमार्गलाई अनिवार्य गर्ने बाचासमेत गर्नुभएको छ ।कालोपत्रे गरेको केही महिना भित्रै सडक भत्किएर हैरानी भोगिरहेका जनतासँग मेयर पदका उम्मेदवार चिरीबाबुले महानगरभित्रका सबै भित्री सडकलाई बलियो बनाउने वाचा गर्नुभएको छ ।

डेढ इन्च मोटाईको सडक छिटो नभत्कने बताउँदै अबको कार्यकालमा सबै वडामा यस्तै सडक बनाउने उनको उद्घोष थियो। उहाँको पहिलो कार्यकालमा डेढ इन्च मोटाईको ४५ किलोमिटर भित्री सडक निर्माण भएको छ। स्थानीय तहको अधिकार क्षेत्रभित्र नरहेको ८ मिटरभन्दा ठूला सडकलाई आफ्नो अधिकार क्षेत्रभित्र ल्याउन प्रयास गर्ने वाचा उहाँले गर्नुभयो। ‘स्थानीय तहको अधिकार क्षेत्रभित्र यी सडक नपर्दा पहिलो कार्यकालमा धेरै अप्ठ्यारो झेल्नु परेको थियो’, उहाँले भन्नुभयो ।

महानगरभित्रका एक मूर्त र एक अमूर्त गरी दुई वटा सम्पदालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न काम थाल्ने उहाँले बताउनुभयो । ९० सालको भूकम्पमा भत्किएर हालसम्म पुनर्निर्माण नभएका मठमन्दिरको पुनर्निर्माण गर्ने उहाँले बताउनुभयो । वडा नं. १९ स्थित इटीटोलमा कामारूकामाक्षबाट श्री रातो मछिन्द्रनाथ (श्री करूणामय पद्मपाणी) ललितपुर ल्याउन सहभागी भएका काठमाडौंका राजा नरेन्द्रदेव,भक्तपुरका तान्त्रिक देव बन्धु आचार्य र मछिन्द्रनाथ बोकेर ल्याउने ललित ज्यापूको शालिक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरभित्र मनाइने जात्रा, पर्व र नाचहरुको संरक्षणका लागि आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो । उहाँको पहिलो कार्यकालमा २४ वर्षदेखि स्थगित भएको पायोः जात्रा (खड्ग जात्रा) सुरु भएको थियो। आर्थिक अभावमा लोप हुने अवस्थामा पुगेका नाच र जात्रालाई अक्षयकोष स्थापना गर्न सहयोग गर्नुभएको थियो ।

ट्राफिक व्यवस्थापनका लागि ठूला बस सञ्चालन गर्ने, पार्किङलाई व्यवस्थित गर्न भर्टिकल पार्किङ निर्माण गर्ने संकल्प गर्नुभएको छ । पालिकाभित्रका स्थायी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, नगरवासीको स्वास्थ्य बिमा गर्ने विषयलाई उनले संकल्प पत्रमा समावेश गर्नुभएके छ । महानगरको नेतृत्व सम्हालेको पाँच वर्षको अनुभवले आफूलाई परिपक्व बनाएको उहाँले बताउनुभयो। ललितपुलाई बस्नयोग्य सहर बनाउन आफूसँग स्पष्ट योजना र दृष्टिकोण भएको स्पष्ट पार्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार