बिममा कांग्रेसको चुनावी सभा (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिममा नेपाली कांग्रेस मालिका गाउँपालिकाले चुनावी प्रचार कार्यक्रम गरेको छ । सोमबार बिममा एक कार्यक्रमका विच कांग्रेसले चुनावी प्रचार कार्यक्रम गरेको हो । सभालाई कांग्रेस म्याग्दीका सचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रकालले कांग्रेसका उम्मेद्वारलाई जिताउन अपिल गर्नुभयो ।

उहाँले कांग्रेसको नेतृत्वमा देशमा ठुला–ठुला परिवर्तन सम्भव भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार तथा निवर्तमान अध्यक्ष युवा नेता श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा २०७४ को चुनावमा आफु अध्यक्ष पदमा विजयी भएको र पहिलो कार्यकाल सफल भएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पहिलो कार्यकालमा भएका उपलब्धी र पहलका बारेमा बिमबासीलाई जानकारी गराउँदै आफ्नो कार्यकालमा सबै वडालाई समान रुपमा बजेट वितरण गरेको बताउनुभयो । आफ्नो पहिलो कार्यकालमा समग्र विकासमा महत्वपुर्ण उपलब्धी हासिल गरेको र सुशासन कायम गरेको उहाँको भनाई छ । अधुरा रहेका योजना पुरा गर्न र समृद्ध मालिका गाउँपालिका निर्माण गर्न पुनः उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।

प्रत्येक वडाबाट छनौट भएर आएका योजनाहरुलाई गाउँपालिकाले आवश्यकताको आधारमा बजेट बाँडफाँड गरेको सुनाउँदै ठुला योजनाको लागि प्रदेश र संघ सरकारलाई पहल गरेको बताउनुभयो । बाढी पहिरोले बिम लगायत गाउँपालिकाका विभिन्न वडामा ठुलो मानविय तथा भौतिक क्षती पु¥याएको उहाँले बताउनुभयो । विपदको समयमा प्रवासमा रहेका बिमबासी लगायत म्याग्दीलीहरुको योगदान महत्वपुर्ण रहेको उहाँको भनाई थियो ।

आफ्नो कार्यकालमा गाउँपालिकामा कुनै पनि भ्रष्टाचार र अनियमितता नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो ,‘गाउँपालिकामा हामी (कांग्रेस) अल्पमतमा भएपनि माओवादी र एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष ज्युहरुको सकरात्मक सहयोगले गर्दा सफल भएको हुँ ।’ ‘एमालेका साथिहरुले गाउँपालिकामा भ्रष्टाचार र अनियमितता भयो भन्दै हिड्नुभएको छ ,त्यो सत्य होइन् ,’ उहाँले थप्नुभयो,‘ नपत्याए एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष ज्युहरुलाई सोध्नुस् ।’

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उम्मेद्वार बुढाले गाउँपालिकालाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो । वडा नम्बर ५ की निवर्तमान वडा अध्यक्ष समेत रहनुभएकी बुढाले आफ्नो नेतृत्वमा वडाको समग्र विकास ,सुशासन कायम लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गरेको बताउनुभयो । उपाध्यक्ष उम्मेद्धार तथा महिला नेतृ बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो ।

वडा अध्यक्षका उम्मेद्धार लोक कुमार पुनले वडाको समग्र विकास र सुशासन कायम गर्न आफुले उम्मेद्धारी दिएको बताउँनुभयो ।उहाँले आगमी ३० बैशाखमा हुने निर्वाचनमा आफुलाई मत दिएर विजयी गराउन अपिल समेत गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष उम्मेद्धार तथा प्रदेशसभा (ख)का सभापति टंकप्रसाद पुन ,कांग्रेस म्याग्दीका सल्लाहकार खिमबहादुर पुर्जा ,कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन ,वडा सदस्य उम्मेद्धार चनदेवी पुन लगायतले कांग्रेसका उम्मेद्धारहरुलाई जिताउन सबैलाई अपिल गर्नुभयो । नेता मनमोहन छन्त्यालको सभापतित्व ,वडा इकाई सभापति टुकमान जुग्जालीको स्वागत र प्रदेश सभा खका सचिव हिरा पुनले कार्यक्रम संचालन गर्नुभएको थियो । एमाले र माओवादीले यस अघि बिममा चुनावी सभा कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार