पार्टीको निर्णय नमान्नेलाई कारबाही हुन्छ : कोइराला

इटहरी । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताउनुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताउनुभएको हो ।

सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेदवार प्रस्तुत भएको बताउँदै यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने बताउनुभयो। नेपाली कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उम्मेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ। उहाँले भन्नुभयो, ‘जो ती उम्मेदवारको पछि लाग्छ उनीहरूलाई नि नोटिसमा राख्नुपर्छ।’

नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। ‘टिकट कसले पायो के गर्‍यो छोड्नुस्, यहाँ देवराजजी ले पनि त मेयरमा पाउनुभएन,’ उहाँले भन्नुभयो, ‘अब हामीले रुख चिन्हलाई विजयी गराउन तर्फ लाग्ने हो।’ अन्तरक्रिया कार्यक्रममा सहभागी उम्मेदवारहरुले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए। उनीहरुले सबै वडामा कांग्रेसको जीत सुनिश्चित रहेको ब्रिफिङ गराएका छन्।

उम्मेदवारविरुदै पनि षड्यन्त्र भइरहेको भन्दै त्यस्ता अराजक व्यक्तिहरूलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्ने भन्दै सहभागीले जोड समेत दिएका छन् ।कार्यक्रममा नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङ, सचिव जितेन्द्र गोल्छा, महाधिवेशन प्रतिनिधि निरञ्जन प्रसाद रिजाल, क्षेत्र ६ क’ का सभापति दीपक भगत लगायतको उपस्थिति थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार