बाँके । मंगलबार काठमाडौंमा मृत भेटिएकी राष्ट्रिय भारत्तोलन खेलाडी तथा १३औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरीको बुधबार उनको गृहजिल्ला बाँकेमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई बाँकेको राप्तीसोनारी–३ बेलासपूरस्थित सञ्जुको घरमा अन्तिम श्रद्धान्जलिका लागि राखिएको थियो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उनको घरमै पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि अर्पण गरेका हुन् । मंगलबार विहान ललितपुरको लुभुस्थित आफू बसेको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी सञ्जुको पार्थिव शरीरलाई पाटन अस्पतालमा पोष्टमार्टम गरी मंगलबारै बाँके पठाइएको थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षती पुगेको बताए । सञ्जु एसियाली खेलकुदको तयारीका क्रममा ललितपुरस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २२ वर्षीया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् । अनलाइनखबरबाट