एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । समाचार तयार पार्दासम्म २३ ओटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेका छन् । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका छन् । बाँकी ७३० स्थानीय तहको मतगणना भइरहँदा कांग्रेसले धेरै पालिकामा अग्रता बढाएको छ । चुनावको मतपरिणाम सार्वजनिक भइरहँदा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतसँग चार प्रश्न सोधिएको छ ।

स्थानीय तह निर्वाचनमा मतगणनाको प्रारम्भिक विवरणप्रति कांग्रेसको मूल्यांकन कस्तो छ ?
परिणाम नेपाली कांग्रेस र गठबन्धनको पक्षमा आइरहेको छ । प्रारम्भिक अग्रताको संख्या हेर्ने हो भने पनि कांग्रेस निकै माथि छ । गठबन्धन दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई जोड्ने हो भने गठबन्धनलाई राम्रो परिणाम प्राप्त हुने देखियो । प्रारम्भिक परिणामलाई आधार मान्दा कांग्रेसले धेरै स्थानीय तहमा जित्ने अनुमान गर्न सकिन्छ । समग्रमा गठबन्धन दलहरूलाई फाइदै भएको देखियो ।

गठबन्धनको सार्थकता पुष्टि भएको भन्न मिल्ला ?
हो । सबै ठाउँमा गठबन्धन त भएन । नभएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा छ । जे भए पनि समग्रमा कांग्रेस सबैभन्दा ठुलो दल हुने लक्षण देखियो । माओवादीले पनि राम्रै संख्यामा अग्रता लिइरहेको छ ।

गठबन्धनका अन्य दललाई पनि राम्रो हुने जसरी देखिएको छ, यसले एमालेले भन्दा गठबन्धन दलले दोब्बर बढी स्थानीय तह जित्ने देखिन्छ । कांग्रेस एक्लै पनि एमालेभन्दा धेरै माथि छ । यो खुसीको संकेत हो । जुन पृष्ठभूमिमा समझदारी भएर गठबन्धन बन्यो, त्यो सार्थकता पुष्टि हुने देखिन्छ ।

तालमेलको क्रममा कांग्रेसले जहाँ–जहाँ नेतृत्व पाएन, कांग्रेसबाटै बागी उठाउने र गठबन्धनकै अन्य दलका उम्मेदवारलाई धोका दिएको भन्ने आरोप सुनिन थालिएको छ नि ?
एक/दुई ठाउँको उदाहरण दिएर हुँदैन । हो, केही ठाउँमा त्यस्तो आरोप लगाउन मिल्ने गरी स्थिति देखियो । तर, धोका होइन । जस्तै, भरतपुर महानगरपालिकामा गठबन्धन दल माओवादीकी प्रमुखले निरन्तर अग्रता लिएकै छिन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीकाका मेयरले लगातार अग्रता लिएको स्थिति छ ।

त्यहाँ त कांग्रेसको मत संख्या माधव नेपालजीको पार्टीभन्दा कता हो कता धेरै छ । हाम्रो पार्टीका नेताहरूको असन्तुष्टि पनि थियो । तैपनि पार्टीको आन्तरिक मतभेद टुंग्याउँदै कांग्रेसको पूरै सहयोग छ । उहाँ (धनराज आचार्य)ले जित्नु हुन्छ भन्ने लागेको छ । त्यही कारणले कांग्रेसले धोका दियो भन्नु गलत हो ।

ललितपुर महानगरपालिका, जनकपुर उपमहानगर, धुलिखेल नगरपालिकालगायत स्थानीय तहमा फरक फरक परिणाम देखिएको छ नि ?
तपाईंले भन्नुभएको स्थानीय तहमा कांग्रेस ठुलो पार्टी हो । हामी उदार भएर गठबन्धनका अन्य दलहरूलाई सँगै लगेका हौँ । तर, त्यहाँको वस्तुस्थिति गठबन्धनअनुसारको भएन । हाम्रै पार्टी त्यागेर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार साहजी स्वतन्त्र हैसियतमा निर्वाचन लड्नुभयो । मनोजजी अगाडि आइरहनुभएको छ । धुलिखेलमा पनि विदुर बस्नेतजी अघि आउनुभएको छ । यसलाई ‘अपवाद’ मान्नुपर्छ । यति धेरै स्थानीय तहमा गठबन्धन सफल भइरहँदा अपवादलाई उचाल्नु हुँदैन ।  nagarikkhabar

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार