रोहिणी बस दुर्घटनाका घाइतेको उपचार व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ ।

उहाँले घाइतेको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पुर्‍याएर उपचारको व्यवस्था गर्न गृहमन्त्रीले निर्देशन दिनुभएको हो।

आज बिहान चार बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका ३ मा पर्ने भैरहवा परासी हुलाकी सडकखण्डको रोहीणी नदी पुलबाट यात्रुबहाक बस नदीमा खसेको थियो।जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो।मृत्यु हुनेमा एक महिला र ८ पुरुष छन्।

मृतकमध्ये ५ जनाको पहिचान खुलेको छ। रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको पहिचान खुलेको छ। बाँकीको सनाखत हुन बाँकी छ। बसमा सवार ३३ जना सवार थिए।बसका चालक निदाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार