ताप्लेजुङमा वृक्षरोपणसंगै फोहोरमैला व्यवस्थापन भाँडा वितरण

ताप्लेजुङ । पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित ताप्लेजुङ सदरमुकाम फुङलिङमा विश्व वातावरण दिवस मनाइएको छ। डिभिजन वन कर्यालय ताप्लेजुङ र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ ताप्लेजुङको संयुक्त आयोजनामा यो दिवस मनाइएको हो।

दिवसका अवसरमा अवसरमा वृक्षरोपण, फोहोरमैला व्यवस्थापन भाँडा (डस्बिन) वितरण र अन्तरक्रियाको आयोजना गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललित यादवका अनुसार सबैभन्दा बढी सेवाग्राही उपस्थित हुने विभिन्न ८ वटा निकायलाई फोहोरमैला व्यवस्थापन भाँडा वितरण गरिएको छ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयलाई २ थान तथा जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, पाथीभरा सव डिभिजन वन कार्यालय, लिटलबुद्ध इङलिस बोर्डिङ स्कुल र मेची सेन्टमेरिज इङलिस बोर्डिङ स्कुललाई १–१ थान गरी जम्मा ८ थान ठूलो साइजको डस्बिन वितरण गरिएको हो।यस्तै तोक्मेस्थित शिवालय मन्दिर र बौद्ध स्तुपा अगाडिको खाली जमिनमा वृक्षरोपण गरिएको छ।

वृक्षरोपणसंगै भएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले दीगो संरक्षणको अभावमा वृक्षरोपण कार्यको प्रभावकारिता नदेखिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि फुङलिङ नगरप्रमुख अमिर मादेनले रोपेका बिरुवा नहुर्कने प्रवृतिकै कारण वृक्षरोपण कार्यक्रमको प्रभाकारिताप्रति प्रश्न उठ्न गरेको भन्दै यसलाई दीगो बनाउने उपायका लागि सम्बन्धित निकायले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले प्रकृतिको संरक्षणबाट मात्र सजीव प्राणीको जीवन संरक्षण हुने बताउनुभयो । उहाँले प्रकृतिमैत्री जीवनयापनका लागि मानव जातिको भूमिका अहम् हुने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष सुरज ओझाले प्रकृतिको संरक्षणको अभावमा मानव जातिको जीवनयापन संकटमा पर्ने भएकोले यसका लागि समुदायका सबै सदस्य अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझा, विभिन्न कार्यालयका प्रमुखहरु, सरोकारवाला निकायका पदाधिकारी तथा सदस्यहरु, फुङलिङस्थित लिटलबुद्ध र मेची सेन्टमेरिजका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिन्छ। nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार