नवीना चौधरी हत्याबारे सांसदको आक्रोश : ‘प्रहरी छाडा भएको हो ?’

काठमाडौँ । बर्दियामा नवीना चौधरीको प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने सांसदहरूले माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनीहरुले प्रहरी छाडा भएको हो भन्दै प्रश्न उठाएका छन् ।

एमाले सांसद खगराज अधिकारीले विना आदेश गोली चलाउने प्रहरीलाई तत्काल निलम्बन गरियो कि गरिएन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मादक पदार्थ सेवनबाट यौन हिंसाका घटना बढिरहेकोले मादक पदार्थ रोक्न सरकारले केही गरेको छ कि छैन भन्दै प्रश्न गर्नुभयो । अर्का सांसद घनश्याम खतिवडाले बर्दिया र अछाम घटनाबारे संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो–‘बर्दिया घटनाको बारेमा गृहमन्त्रीले दिएको जवाफले निकै गम्भीर बनाएको छ । नवीना चौधरीको ज्यान गयो सिडिओले आदेश दिएको छैन । एसपीले आदेश दिएको छैन । कतै गोली चलाउनु भन्ने गृहको कुनै आदेश छैन । फेरी पनि गोली चलेर मान्छे मरेको छ । अन्याय भएको छ । नवीना चौधरीको त ज्यान गयो, आदेश बिना कति नेपालीको प्रहरीको गोलीबाट हत्या हुने हो गृहमन्त्री ज्यू ? यसमा संसदीय समिति बनाएर छानबिन गर्नुपर्‍यो । बर्दिया काण्ड र अछाम काण्डको छानबिन गर्न अविलम्ब संसदीय समिति बनाइयोस् ।’

सांसद भीम रावलले पनि गोली चलाउन आदेश नदिई गोली चलाउनेलाई कारबाही भएको छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो । सांसद विमला विकले बर्दियामा बाघको आक्रमण रोक्न आवश्यक व्यवस्था मिलाउन भन्दै भएको प्रदर्शन हुलाकी सडकमा भएको बताउनुभयो । राजमार्ग बन्द नभएको र हुलाकी सडक बन्द हुँदा पनि वैकल्पिक रहेको भन्दै गोली चलाउनु पर्ने अवस्था नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘गोली चलाउन आदेश नै नभई गोली चल्छ भने प्रहरी छाडा भएको हो ? कसको आदेशले प्रहरीले गोली चलाउँछ ? जवाफ चाहियो ।’ सांसद सूर्यप्रसाद पाठकले एक हप्ताको मात्र अवस्था हेर्दा पनि शान्ति सुरक्षा कमजोर रहेको बताउनुभयो । उहाँले आफूले आदेश नदिए पनि गोली चल्यो भन्ने गृहमन्त्रीले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार